भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवन,मंसिर १ । कोरोना भाइरस राहत कोष क्युस्यु जापानले चितवनको ईच्छाकामना गाउँपालिका वडानम्वर १ का ९७० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ। उक्त वडामा रहेको एक मावि सहित अन्य सवै विद्यालयमा अध्ययनरत बहुसंख्यक चेपाङ सहित सवै विद्यार्थीलाई जनही दुईवटा कपी सहित एउटा झोला वितरण गरिएको हो ।
कमजोर आर्थिक अवस्थाले झोला समेत किन्न नसकेर हातमा किताव कपी बोकेर विद्यालय जान वाध्य रहेको थाहा पाएपछि जापनामा रहेका नेपालीहरुले आर्थिक संकलन गरी सहयोग गरेका हुन् ।
सपना भिलेज सोसल ईम्पाक्टको समन्वयमा जापानमा रहेका नेपाली संघसंस्थाको सहयोगमा संकलित करिव चार लाख रुपैयाँ भन्दा बढीको सहयोग गरिएको परियोजनाका कार्यक्रम निर्देक सुजन बस्नेतले जानकारी दिनुभयोे। क्युस्यु जापानका अध्यक्ष एवम् एनआरएनए जापानका सचिव धर्म अधिकारी सहितको सक्रियतामा संकलित रकमबाट सो सहयोग गरिएको कार्यक्रमका प्रमुख अतिथि एवम् क्युस्यु जापानका प्रतिनिधि होमनाथ सापकोटाले जानकारी दिनुभयो । जापानमा रहेका नेपालीहरुले आफ्नो कमाईबाट केही रकम बचत गरि आर्थिक अव्यवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गरिएको उहाँको भनाई छ।
राष्ट्रिय मावि हात्तीवाङ्गका ३२३ जना विद्यार्थीलाई ती सामाग्री वितरण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । विद्यालयका प्रधानाध्यापक लोक बहादुर मगरले करिव ९० प्रतिशत चेपाङहरु अध्ययन गर्ने एकमात्र मावि विद्यालय रहेको र अहिलेको सहयोगले विद्यार्थीको पढाईमा थप सहज हुने बताउनुभयो । झोला पाएपछि कापि किताव बाटोमै हराउने,पानी र पसीनाले च्यातिने समस्या समाधान भएको भन्दै सहयोगका लागि क्युस्यु र सपना भिलेजलाई धन्यवाद सहित आगामी कार्यक्रममा पनि सहकार्य गर्न आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्मवहादुर चेपाङले जाडो सुरु भएसँगै न्यानो कपडाको अभावमा विद्यालय छाड्न चेपाङ वालवालिका वाध्य हुने भन्दै थप सहयोगका कार्यक्रम ल्याइदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा वडाअध्यक्ष नन्दलाल गिरि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्म वहादुर चेपाङ,पूर्व अध्यक्ष सन्तवहादुर राना,सदस्य लिलावहादुर पुरी, कृषिविज्ञ सुर्य बोगटी,लायन्स क्लव रत्ननगरका पूर्व अध्यक्ष विकर्ण कुमार श्रेष्ठ,समाजसेवी लिलाधर कडेल, सपना भिलेजले संचालन गरेको परियोजनाका कार्यक्रम अधिकृत मिनराज सापकोटा, अनिल अर्याल, लगायतको उपस्थिति रहेको थियो ।
वडाभित्र रहेका अन्य विद्यालयका विद्यार्थीलाई पनि आजै ती सामाग्री हस्तान्तरण गरिने बस्नेतले जानकारी दिनुभयो । जापानबाट सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिदै झोलाको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।