Breaking News :

पर्यटन प्रवर्द्धनको लागि माडीमा बोटे सामुदायिक होमस्टेहरु सञ्चालनमा

नारायण सापकोटा, माडी । पर्यटन प्रर्वद्धन र सस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ माडी नगर पालिका वडा नं १ बनकट्टाको बोटे गाँउमा बोटे सामुदायिक होम स्टेहरु सञ्चालनमा आएका छन् ।

प्रथम चरणमा निर्माण भएका १० वटा होम स्टेहरु सबै सञ्चालनमा आएका छन् भने अन्य २ वटा निर्माधीन अवस्थामा रहेका छन् । यद्यपि होम स्टेको औपचारिक उद्घाटन भने भएको छैन ।

माडी नगरपालिका, पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति र तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा निर्माण भएका होम स्टेहरु औपचारिक रुपमा उद्घाटन नभए पनि पाहुनाहरु आउने क्रम बढेकाले होम स्टेका सञ्चालकहरु पनि उत्साहित भएका छन् ।

मूुख्य सडकबाट भित्र, हरियाली र शान्त वातावरणमा सञ्चालित होम स्टेमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदी किनारमा आएका जङ्गली जनावरहरु पनि देख्न सकिने भएकोले पर्यटकहरुका लागि बोटे होम स्टेहरु आकर्षणका केन्द्र बनेका छन् ।

होम स्टेहरु औपचारिक उद्घाटन गरी सञ्चालन नभए पनि पर्यटकहरु आउने क्रम बढेको र जङ्गल र जङ्गली जनावरहरु हेर्दै पर्यटकहरु रमाउने गरेको बोटे होम स्टेका अध्यक्ष सन्तोषप्रसाद बोटले जानकारी दिनुभयो ।

होम स्टेबाट प्रशिद्ध धार्मिक स्थलहरु पाँच पाण्डव मन्दिर, भीम इनार, परशुराम कुण्ड,गोद्धकनाथ,अष्टभुज शिवलिङ्ग, कुकुरनाथ, बिरालानाथ, सीता गुफा, झण्डी डाँडा नजिकै पर्ने भएकोले होम स्टेमा बसेर बिहानै तीर्थस्थलहरुको दर्शन गरी रमणीय वातावरणहरुको अवलोकन गर्न पर्यटकहरु लालायित हुने गरेको होम स्टे सञ्चालक समितिका कोषाध्यक्ष जगनारायण बोटले बताउनुभयो ।

होम स्टेमा बसेका पाहुनाहरुलाई होम स्टेको विशेष परिकारका साथै उहाँहरुको रुची अनुसारको खाना खुवाएर राष्ट्रिय निकुञ्ज लगायत माडीका विभिन्न स्थानमा जिप सफारी, माडीका सोमेश्वर कालिका, वैकुण्ठेधाम, शनिमन्दिर, बुलबुले ताल,रेवा त्रिवेणी, वैराठ धुनी,सीताराम गुफा लगायतका स्थानको अवलोकन गर्ने वातावरण मिलाइने कोषाध्यक्ष बोटले जानकारी दिनुभयो ।

होम स्टेमा आउने पाहुनाहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले माडी नगर पालिका र स्वीच प्रोजेक्टको सहयोगमा बोटे सामुदायिक सास्कृतिक भवन निर्माण भएरहेको जानकारी दिंदै अध्यक्ष सन्तोषप्रसाद बोटले बोटे, थारु, लगायत विभिन्न जातजातिका संस्कृतिहरु देखाएर पर्यटकहरुलाई मनोञ्जन दिन लागिएको बताउनुभयो ।

हाम्रो उद्देश्य भनेको नै पर्यटक प्रवद्र्धन, जैविक विविधता र संस्कृतिको संरक्षण गर्ने भएकोले होम स्टे मार्फत बोटेको मात्र नभएर अन्य विभिन्न जातजातिको संस्कृतिलाई पनि संरक्षण गर्ने योजनाका साथ होम स्टे सञ्चालन गरिएको होम स्टे सञ्चालक विष्णुमाया बोटले जानकारी दिनुभयो ।

होम स्टेमा तालिमहरु सञ्चालन गर्न पनि विभिन्न संघ संस्थाबाट सम्पर्क गरिरहनुभएको छ । हामीले चाँडै नै सभाहललाई व्यवस्थित गरी तालिमहरु सञ्चालन गर्न लागिएको पनि अध्यक्ष बोटले बताउनुभयो ।

हाल होम स्टेमा ४० जना पाहुनाहरुलाई एकैसाथ राख्न सकिने क्षमता रहेको छ । आवश्यकता अनुसार क्षमता बढाउँदै लगिने होम स्टेको योजना रहेको छ ।

merokhabarsathi

Read Previous

पुष्पालाई अब जगंल छाडिने

Read Next

‘सामुदायिक स्वास्थ्य प्रवर्धनमा महिला स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण छ’ ः महानगर प्रमुख दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram