Breaking News :

नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी २८६ युनिट रगत सङ्कलन

जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी २८६ युनिट रगत सङ्कलन गरेको छ । भदौ ८ गतेदेखि आठ दिनमा १७ ठाउँमा रक्तदान कार्यक्रम गरिएको हो ।

मञ्चका द्वितीय उपाध्यक्ष सूर्यभक्त अधिकारीका अनुसार आजलाई रोकेर भोलिदेखि यो अभियानलाई निरन्तरता दिइनेछ । रक्तसञ्चार केन्द्र भरतपुरका दुई कर्मचारीलाई सङ्क्रमण भएपछि एक दिनलाई कार्यक्रम रोकिएको उहाँले जानकारी दिनुभयो । धर्मचोकबाट शुरु भएको अभियानअन्तर्गत गैँडाकोट, गीतानगर, नारायणगढ, सौराहा, शुक्रनगर, जिल्ला प्रहरी कार्यालय चितवन परिसरलगायतका क्षेत्रमा शिविर गरिएको हो । मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार गीतानगरको केशरबाग र जिल्ला प्रहरी कार्यालयमा धेरै युनिट रगत सङ्कलन भएको थियो ।

रगतको अभाव भइरहेका बेला थोरै मानिस जम्मा गरेर उच्च सावधानीका साथ गरिएकाले टोलटोलबाट रक्तदानका लागि टेलिफोन आउने गरेको रानाभाटले जानकारी दिनुभयो । मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको सङ्क्रमण ऐनभित्र रही सम्पूर्ण कार्य गरिएको जानकारी दिनुभयो । मञ्चले चितवन र छिमेकी जिल्लाका आआफ्नो टोलमा संयोजन गरी मिति, समय र टोलको नाम टिपाउन अनुरोध गरेको छ ।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रगतको अभाव भइरहेका बेला यो अभियान निकै उपयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्कटका बेलामा मञ्च सबैका लागि सहयोगी बन्यो ।” यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुँदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि रगत पाउने अवस्था नभएको उहाँले बताउनुभयो । जिल्लामा तेस्रो साता निषेधाज्ञा जारी छ । पौडेलका अनुसार जिल्लाका अस्पतालमा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।

केन्द्रले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ । कोरोना त्रासका कारण विगतमा रक्तदान गर्नेसमेत अहिले डराएका छन् ।रासस

merokhabarsathi

Read Previous

सोह्र श्राद्ध : कुन तिथि कतिखेर?

Read Next

रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जनामा कोरोना पुष्टि, बिहानदेखि केन्द्र सिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram