Breaking News :

सेनाले विशेष सावधानी र सँस्कारको सम्मानसहित गर्छ काेराेना संक्रमीतकाे शव व्यवस्थापन

आफन्त गुमाउँदाको पीडा शवलाई अङ्कमाल गरेर मन हलुङ्गो हुने गरी रोएपछि धेरैलाई सान्त्वना मिल्ने गर्छ । त्यसपछिको आफ्नो धार्मिक परम्परा र सँस्कार अनुसारको अन्त्येष्टि कर्म पूरा गर्दा मृतात्माले शान्ति पाउने र परिवारमा पनि पीडा कम हुँदै जाने गर्दछ । कोरोना महामारीले परम्परा र संस्कारलाई नियमित गर्न नदिए पनि नेपाली सेनाले भने सम्भव हुने जति परम्परा र संस्कार अनुसार अन्त्येष्टि गरेर सहानुभूति लिने र समवेदना दिने गरेको छ ।

कोरोना सङ्क्रमणपछि मृत्यु हुनेहरुको दाहसंस्कारको जिम्मा पाएको नेपाली सेनाले परिवारको अनुरोध अनुसार शवलाई व्यवस्थापन गर्दै आएको छ । सेनाले परिवारले जसरी शवको व्यवस्थापन गर्न भन्छ सोही अनुसार गर्दै आएको छ । यहाँको कालीबहादुर गणले हालसम्म १७ वटा शवको व्यवस्थापन गरिसकेको छ । ती मध्ये १० पुरुष र सात महिला रहेका छन् । १८ वर्षिया युवतीदेखि १०८ वर्षिया बृद्धासम्मको परम्परा अनुसार संस्कार गरिएको छ ।

सेनाले गएको असार १३ गते कैलालीका एक पुरुषको शव व्यवस्थापन गरी यस कामको शुरुवात गरेको हो । गणका गणपति विज्ञान खनालका अनुसार गणमा तालिम प्राप्त टोली नै रहेको छ भने १५ जनाको टोलीले छुट्टै आईसोलेसनमा बस्ने गरेको छ । खनालले भन्नुभयो “खबर आएपछि तत्काल व्यवस्थापन गरेर हाम्रो टोली शव रहेको ठाउँमा पुग्छ ।” उहाँका अनुसार शुरुमा शवलाई निर्मलीकरण गरेर शव बहानमा राखिन्छ । शव बहानसँगसँगै सेनाको टोली अन्त्येष्टि स्थलमा पुग्ने गर्दछ । भरतपुर महानगरपालिका वडा नं. १ स्थित बागेश्वरी जंगलमा शव व्यवस्थापन गरिंदै आएको छ । खनालले भन्नुभयो “परिवारको ईच्छा अनुसार शवको अन्त्येष्टि गर्छाै, हालसम्म परिवारको अनुरोधमा एउटा शव जलाईएको छ भने अन्यलाई खाल्टोमा व्यवस्थापन गरिएको छ ।”

शव व्यवस्थापन स्थल नजिकै भौतिक दूरी कायम गरेर परिवारले आफ्नो संस्कार र परम्परा अनुसारको धार्मिक विधि पूरा गरिसकेपछि मात्रै शवको व्यवस्थापन हुने गरेको छ । खनालले भन्नुभयो “जुन धर्म र संस्कारको शव छ सोही परम्परा अनुसारको विधि पूरा गरेपछि मात्रै हामीले अन्त्येष्टि गर्दछौं ।” महामारीबीच पनि आफ्नो परम्परा पूरा गर्न पाउँदा परिवारमा सान्त्वना मिल्ने गरेको छ । डोजरले ७ देखि १० फिट गहिरो खाल्टो खनेर शव व्यवस्थापन गरिंदै आएको छ । एउटा शव व्यवस्थापनका लागि पाँच जनाको समूह परिचालन गर्ने गरिएको छ । अधिकृत वा पदिकले त्यसको नेतृत्व गर्ने गर्दछन् । शव व्यवस्थापनपछि फर्किएको टोली गणको गेटैमा सेनिटराईज गरेर भित्र प्रवेश गराईन्छ ।

गेटको आडैमा रहेको स्नान कक्षमा स्नान गरेर उनीहरु आईसोलेसन कक्षमा पुग्ने गर्दछन् । खनालले भन्नुभयो “१५ दिनसम्म एउटै समूहले काम गर्दछ । त्यसपछि पिसिआर नेगेटिभ आएमा अर्काे समूहलाई परिचालन गरिन्छ ।” व्यक्तिगत सुरक्षाको पोशाक प्रयोग गरी शव व्यवस्थापनमा टोली पठाउने गरिएको छ । उनीहरुले मास्क, पन्जा, पिपिई लगायतका सम्पूर्ण सुरक्षा पोशाक लगाउने गरेका छन् । खनालका अनुसार हालसम्म शव व्यवस्थापनमा खटिएका कुनै पनि सैनिकलाई कोरोना पोजेटिभ देखिंएको छैन । नेपाली सेनाले पाएको यो महत्वपूर्ण जिम्मेवारी उच्च मनोबलका साथ पूरा गरिएको खनालले बताउनुभयो ।रासस

merokhabarsathi

Read Previous

चितवनमा निर्माणाधिन आकाशे पुलमा झुण्डीएर एकजनाले गरे आत्महत्या

Read Next

चितवनका ४१ जना सहित ४८ जनामा काेराेना पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram