शक्तिशाली मौसमी प्रणाली नेपाल प्रवेश, यस्तो हुनेछ आजको मौसम

भारी हिमपात र वर्षा गराउने शक्तिशाली मौसमी प्रणाली आज (बुधबार) नेपालमा प्रवेश गर्ने मौसमविद्ले जानकारी दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ देशको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने भएको हो। जसका कारण आजै रातिदेखि पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा एवं उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात सुरु हुने सम्भावना छ।

भोलि (बिहीबार)बाट भने यसको प्रभाव देशभरि नै फैलिने बताइएकाे छ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै भनेको छ : यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात तथा थोरै स्थानमा भारी हिमपातको सम्भावना छ। साथै मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र सोही भूभागका १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

बिहीबार देशको पूर्वी भूभागमा पनि आंशिकदेखि सामान्यसम्म बदली भई १-२ स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

आजको मौसमी अवस्था
यतिबेला (बुधबार बिहान) देशको पूरै तराई क्षेत्र बाक्लो हुस्सु/कुहिरोले ढाकेको छ। साथै काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि सामान्य कुहिरो देखिएको मौसमविद्ले जानकारी दिएका छन्।

माैसमविद्का अनुसार हुस्सु/कुहिरोका कारण चिसो बढ्दा तराईको जनजीवन कष्टकर भएको छ। बुधबार राति पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने र बिहीबारदेखि यसको प्रभाव देशभर फैलिने भएकाले भोलिदेखि भने तराईमा हुस्सु/कुहिरो लाग्ने छैन।

merokhabarsathi

Read Previous

आज मकर संक्रान्ति, यस्तो छ मकर संक्रान्तिकाे महत्त्व

Read Next

उपत्यकाका १८ वटा पेट्रोल पम्प सारिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram