
जंगली हात्ती मानव बस्तीमा पसेर जनजीवन आतंकित बनाएको भन्दै चितवन राष्ट्रिय निकुञ्ज र मानव बस्तीको बीचमा व्यवस्थित तारबार गर्न सांसद दिलकुमारी रावल थापा पार्वतीले माग गरेकि छन्।
जंगली हात्ती मानव बस्तीमा पसेर जनजीवन आतंकित बनाएको तथा धनमाल नष्ट गरेको भन्दै सांसद रावलले वन मन्त्रालय र निकुञ्ज प्रशासनसँग यस्तो माग गरेकी हुन् ।
‘चितवन राष्ट्रिय निकुञ्जका जंगली हात्ती मानव बस्तीमा पसेर जनजीवन आतंकित बनाएका छन् । पुस ७ गतेयता भरतपुर– २८ अन्दौलीका लोकनाथ सापकोटालगायत विभिन्न किसानको करीब ८ बिघा जमिनमा लगाएको केरा खेती जंगली हात्तीले नष्ट गरेको छ । सोही स्थानका माइला लामासहित अन्य ४/५ जनाको घरभित्र राखिएका अन्न नष्ट भएका छन्, भरतपुर २५ बुद्धनगरका ३ घरमा क्षति पुगेको छ,’ राष्ट्रिय सभाको बिहीवारको बैठकको शून्य समयमा बोल्दै सांसद रावलले भनिन् ।
जनता जिउधन र सम्पत्तिको सुरक्षाका लागि उनले सरकारको ध्यानाकर्षण गराइन् ।
जनता बाँच्न चाहन्छन्, सम्पत्तिको सुरक्षा पनि चाहन्छन् । जंगली हात्तीलाई तत्काल नियन्त्रण गर्न र पीडित नागरिकलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न तथा निकुञ्ज र बस्तीबीच व्यवस्थित तारबार निर्माण गरी जंगली जनावर र मानव बस्तीबीचको द्वन्द्व समाधान गर्न निकुञ्ज प्रशासन र वन मन्त्रालयसँग सम्माननीय अध्यक्षज्यूमार्फत जोडदार माग गर्दछु,’ सांसद रावलले भनिन् ।
चितवनबाट प्रतिनिधित्व गर्ने सांसद रावलले त्यस क्षेत्रका जनताले भोगेका समस्या र स्थानीय सरोकारका विषयमा निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएकी छन् ।