
चितवनमा यहि मंग्सिर १४ गते शनिबार हुने उपनिर्वाचनका लागि तयारी पूरा भएको छ ।
भरतपुर महानगरपालिकाको वडा नं. १६, र खैरहनी नगरपालिकाको वडा नंं ४ र ५मा हुने निर्वाचनका लागि मतदान स्थलको व्यवस्थापन, केन्द्रहरुमा प्रतिनिधि तथा सुरक्षा व्यवस्थाको सबै तयारी पूरा भएको हो ।
जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालका अनुसार ‘व्यवस्थापनको तयारी सबै पूरा भएको छ, विहीबार मतदाता परिचय पत्र वितरणको तयारी गरेका थियौ, मतदाता नआएपछि आज शुक्रबार विहानदेखि वितरण गर्दै छौ ।’ मतदान स्थलमा मतदाताको लागि लाइन लाग्ने स्थान निर्माण, सामग्रीहरुको व्यवस्थापन गरिसकेको छ। मतपत्र जिल्लामा आइसकेको, अन्य निर्वाचनको सामग्री तयारी अवस्थामा रहेको ढकालले जानकारी दिनु भयो ।
कार्यालयका अनुसार ३ वटा वडाको ६ स्थानमा मतदान हुदैछ । १५ वटा निर्वाचन केन्द्रबाट मतदान हुने व्यवस्था मिलाइएको छ । महानगरको वडा नं. १६ मा तीन स्थानको १० वटा केन्द्रबाट मतदान हुने व्यवस्था रहेको छ । यहाँ आठ हजार ४८१ जना मतदाता रहेका छन् ।
खैरहनी नगरपालिकाको वडा नं. ४ मा दुइ स्थानको तीन केन्द्रबाट मतदान हुदैछ । यहाँ दुइ हजार ६९२ जना मतदाता रहेका छन् । त्यस्तै खैरहनी नगरपालिका वडा नं. ५ मा एक स्थान दुइ केन्द्र रहेको छ । यहाँ दुइहजार १११ जना मतदाता रहेका छन् । मतदान स्थल र मतदान केन्द्रमा कर्मचारीलाई खटाउने काम भइसकेको निर्वाचन अधिकारी ढकालले जानकारी दिनु भयो ।