प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
चीनका राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका लागि आज शनिबार नेपाल आउँदैछन् ।राष्ट्रपति सी जिनपिङ आज अपरान्ह ४ः३० देखि ५ः३० बजेको समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लनेछन् ।
त्यसपछि करिब ७ः३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् र आजको कार्यक्रम सकिनेछ ।
आइतबार बिहान नेपाल–चीनबीच विविध विषयमा औपचारिक वार्ता हुनेछ । जसमा पर्यटन, प्रविधि, कृषि र बीआरआईका विविध पक्षमा छलफल हुने र बिहानको १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्तार हुने प्रारम्भिक कार्यक्रम तय भएको सरकारले जनाएको छ । त्यससँगै चिनियाँ राष्ट्रपतिसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतासहित राजनीतिक दलका नेताले भेटवार्ता गर्ने कार्यक्रम छ । उनी नेपाली समयअनुसार १२ः३० बजे नेपालको दुई दिने नेपाल भ्रमण सकाएर करिब १२ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सीको नेपाल भ्रमणका अवसरमा नेपालले ठूला भौतिक पूर्वाधारको सहयोगको प्रस्ताव गर्ने र चिनियाँ पक्षले सुरक्षा चासोका विषयलाई विशेष प्राथमिकता दिएको बुझिएको छ ।भ्रमणका अवसरमा नेपालले बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) निर्माणसहित एक दर्जन आयोजनामा सम्झौता गर्ने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले रेलमार्गको मोडालिटी एवम् लगानीका विषयमा टुंगो लगाउने गरी सम्झौताको मस्यौदा तयार गरेको हो ।
त्यसैगरी काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग हुँदै रसुवाको स्याप्रुवेसीसम्म पुग्ने सडक पूर्वाधार निर्माणको प्रस्तावलाई पनि सम्झौता गर्ने गरी तयारी गरिएको छ । यो नेपाल र चीन जोड्ने दोस्रो राजमार्गको हो । नेपाल–चीन जोड्ने पहिलो नाका सिन्धुपाल्चोकको तातोपानी सीमा नाका(मितेरी पुल) देखि धुलिखेलसम्म सडक विस्तार गरेर डबल लेन बनाउने सम्झौतामा पनि समझदारी गर्ने नेपाल सरकारले प्रस्ताव छ ।
चीनसँग जोडिने कोशी, कर्णाली र गण्डकी सडक करीडोरको स्तरोन्नति तथा निर्माणमा चिनियाँ पक्षसँग सम्झौता गर्ने सरकारले तयारी गरेको छ । नेपाल–चीनबीच गत वर्ष भएको पारवाहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार नेपालले चीनका चार सामुन्द्रीक र तीन सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने छ ।
चीनका बन्दरगाह जोड्नका लागि सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किामाथांका र ताप्लेजुङको ओलाङचुङगोला सीमानामा पूर्वाधार विकास र त्यससँग सम्बन्धित लिंक रोड निर्माणमा सरकारले सम्झौताको तयारी गरेको छ ।
यता चिनियाँ पक्षले बेल्ट एन्ड रोड (बीआरआई) परियोजना लिएर अगाडि बढिरहेको अवस्थामा सडक, रेलमार्ग, विमानस्थल, विद्युतीय प्रशारणलाई जस्ता अन्तरदेशीय सञ्जाल विस्तार र विकासमा विशेष प्राथमिकता दिँदै आएको छ । यसै सिलसिलामा नेपाल पनि बीआरआई पक्ष राष्ट्र भएको सुरक्षा र यातातातको बहुआयामिक सञ्जाल विस्तारका लागि चिनियाँ पक्ष इच्छुक देखिएको छ ।
सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो ।