Breaking News :

दशैँमा प्रयोग गरिने श्लोक देखि चंगा सम्मको यस्तो छ महत्व

नेपालीहरुको महान् चाड हो दशैं । माता दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । घटस्थापनादेखि सुरु हुने दशैं कोजाग्रत पूणिर्माका दिनमा समापन हुन्छ । घटस्थापनादेखि पहिलो नौ दिनसम्म नवरात्री पूजा गरिन्छ ।

दशमी अर्थात् विजयादशमीको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गा पूजा गर्ने । मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका थाप्ने, आशिर्वाद लिने गरिन्छ । दशैँमा प्रयोग हुने हरेक कुराको आफ्नो आफ्नो महत्व रहेको छ।

दशैंको श्लोक

आयूद्रोणसुते श्रीयम् दशरथे शत्रुक्षयम् राघवे
ऐश्वर्यम् नहुषे गतिश्च पवने मानञ्च दुर्योधने
दानम् सूर्यसुते बलम् हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञानम् विदुरे भवन्तु भवताम् कीर्तिश्च नारायणे

यसको अर्थ हो, द्रोणपुत्र अश्वत्थामाको जस्तो लामो आयु, दशरथ राजाको जस्तो सम्पति, रामको जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानजस्तो गतिशील, दुर्याधनको जस्तो मान, सूर्यपुत्र कर्णजस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान नारायणको जस्तो कीर्ति प्राप्त होस् ।

दशैंको टीका

दशैंमा मान्यजनबाट आशिर्वाद लिन निधारमा टीका थाप्ने गरिन्छ । रातो र सेतो अक्षताको टीका लगाउने चलन छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउँछ ।

दशैंको जमरा

दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । जमरा घटस्थापनाको दिन राखिन्छ । यसको आफ्नै विधि छ ।

अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ । धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । खासमा भन्ने हो भने जमरा पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ ।

दशैंको पिङ

मान्यता के छ भने दशैंमा एक पटक भए पनि जमिन छाड्नुपर्छ । यही मान्यतालाई शिरोधर गर्दै पिङ थाप्ने र त्यसमा मच्चिने गरिन्छ । यसले दशैंमा रमाउने बहाना दिएको छ । सबै भेला भएर पिङमा मच्चिँदा रमाइलो हुन्छ । सबै खुशी हुन्छन् ।

यो स्वास्थ्य विज्ञानसँग पनि जोडिएको छ । दशैंमा मीठो, मसिनो खासगरी मासुजन्य खानेकुरा सेवन गरिन्छ । एकसाथ बसेर खानेकुरा खाए पनि पचाउन गाह्रो हुन्छ । खानेकुरा पचेन भने त्यो बोसोमा रुपान्तरण हुन्छ । अनि, रोग लाग्छ ।

त्यसैले मीठो मसिनो खाएपछि पिङमा मच्चिनु पर्छ । यसले पेटको व्यायाम हुन्छ । खानेकुरा पचाउन सहयोग पुग्छ ।

दशैंको चङ्गा

दशैंमा चङ्गा उडाइन्छ । किनभने, यतिबेला आकास खुला हुन्छ । न झरी, न जाडो । सन्तुलित मौसममा चङ्गा उडाउनुको छुटै आनन्द छ । धार्मिक कथनचाहिँ के छ भने खेतीबालीका लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश भगवान इन्द्रकहाँ पुर्‍याउन चङ्गा उडाइन्छ ।

अहिले यो मनोरञ्जनको माध्यम बनेको छ । वर्षा ऋतुको समाप्तिसँगै आउने दशैंको मनमोहक मौसममा चङ्गा उडेको देख्दा मन पनि चङ्गा हुन्छ । खुशी हुन्छ ।

merokhabarsathi

Read Previous

किन मनाउने दशैं ?

Read Next

दशैंमा के खाने ? के नखाने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram