Breaking News :

चितवन मेडिकल कलेज र विद्यार्थीको वार्ता बढी लिएको शुल्क फिर्ता गर्ने सहमति

विगत केही सातादेखि मेडिकल कलेजका विद्यार्थीले चर्काएको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएको छ । कलेज प्रशासन , विद्यार्थी र अभिभावकबीच आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्ता सहमतिमा टुंगिएको हो ।

कलेजले विद्यार्थीसँग अवैध रुपमा बढी असुलेको शुल्क फिर्ता गर्ने सहमति भएको छ । सहमतिअनुसार बढी लिएको शुल्क ३० दिनभित्र कलेजले विद्यार्थीहरुलाई फिर्ता गर्ने लिखित सहमति गरिएको छ ।

कलेजले शुल्क फिर्ता गर्ने र लामो समयदेखि ठप्प रहेको पठनपाठन भोलीबाटै सुचारु गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । यो सहमतिसँगै विद्यार्थीहरुको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । आन्दोलन स्थगित भएपछि पठनपाठन नियमित रुपमा सञ्चालन हुने बताईएको छ ।

आज विहान १० बजेबाट साँझ ५ बजेसम्म प्रशासन कार्यालयमा वार्ता भएको थियो । प्रमुख जिल्ला अधिकारी बस्नेतको रोहवरमा भएको वार्तामा कलेजका प्रमुख हरिशचन्द्र न्यौपाने, प्रमुख प्रशासक प्रताप देवकोटा, आन्दोलनरत विद्यार्थी तर्फबाट विप्लबका छोरा प्रकाश चन्दको नेतृत्वमा विद्यार्थीहरु र अभिभावकहरु सहभागी भएका थिए । मेडिकल कलेजले सरकारले तोकेको भन्दा १२ लाख बढी शुल्क अवैध रुपमा असुलेको भन्दै विद्यार्थीहरु चरणवद्ध आन्दोलनमा रहेका थिए । विद्यार्थी आन्दोलित बनेपछि विगत १९ दिनदेखि कलेजको पठनपाठन ठप्प रहेको थियो ।

कलेजको २६ वटा संकायमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । कलेजले, सरकारले तोकेभन्दा १२ देखि १५ लाख रुपैयाँसम्म बढी रकम लिने गरेको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन चर्काएका थिए । तर अस्पतालका सञ्चालक हरिश न्यौपानेले भने सरकारले भनेभन्दा बढी रकम नलिएको बताउँदै आएका थिए । चिकित्सा शास्त्र अध्ययन सस्थान आईओएमले एमबीबीएसका लागि शैक्षिक शुल्क ४२ लाख रुपैयाँ तोकेको र अन्य परीक्षणलगायतका केही शुल्क पारदर्शी रुपमा नै लिएको उनको भनाई छ ।

यसैबीच शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो ।

merokhabarsathi

Read Previous

मोबाईल बाट नै पुस्तक लेखेर विमोचन, नानी विवुको अनुक्रोश

Read Next

बसको ठक्करबाट एक पैदल यात्रीको मृत्‍यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram