
सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले भरतपुर विमानस्थल जोखिममा रहित बनाउनुपर्नेमा जोड दिएकाछन् । भरतपुर विमानस्थल विस्तार एवम् सुधार सम्बन्धमा आज भरतपुरमा आयोजित सरोकारवाला बीचको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई विशेष चासोको रुपमा हेरिएको बताए ।
मन्त्री भट्टराईले ‘भरतपुर विमानस्थल जोखिममा रहेको भन्दै सुरक्षित बनाउनु पर्छ होइन भने विमानस्थलनै बन्द गर्नुपर्छ भनेका छन। उनले विमानस्थलको टर्मिनल भवन पनि अत्याधुनिक र व्यवसायीक बनाउनुपर्ने बताए ।
भरतपुरको जनघनत्व दिन प्रतिदिन बढ्दै छ, मन्त्री भट्टराईले भने, राजधानीसँग जोडिएको नजिकको ठाउँ, स्वास्थ्य, शिक्षा र पर्यटकीय दृष्टिकोणले पनि महत्व बोकेको जिल्ला भएकाले भरतपुर विमानस्थललाई महत्व दिएका हौं । उनले भरतपुर विमानस्थल विस्तारमा नेपाली सेना बाधक नहुने बताए । नेपालका महत्वपूर्ण विकास निर्माणका काम नेपाली सेनाले गर्दै आएको छ, उनले भने, सरकारको निर्णयको पक्षमा सेना छ, तर हामीले उपयुक्त विकल्प दिन सक्नुपर्छ । उनले भरतपुरमा रहेका मापदण्ड विपरितका घर र अन्य संरचनाका बिषयमा पनि एकै पटक समाधान गरिने बताए ।
केन्द्रीय राजधानी काठमाण्डौंमा साना जहाजलाई निशेष गरेर त्यसको विकल्पमा भरतपुर र रामेछापको मन्थली विमानस्थललाई विस्तार गर्ने योजना रहेको उनले सुनाए ।
भरतपुरमा भएको छलफलका आधारमा मन्त्रालयले एक हप्ता भित्र विमानस्थल विस्तारका लागि विज्ञ सहितको सर्वपक्षीय समिति निर्माण गर्ने मन्त्री भट्टराईले प्रतिबद्धता जनाए । उनले विमानस्थल विस्तारकै लागि फेरी अर्को सर्बदलीय बैठक नहुने भन्दै अब एक्सनमा गएर काम गर्ने बताए । उनले पार्टीका प्रमुख नेताहरुका निर्वाचन क्षेत्रमा बिषेश ध्यान दिनुपर्ने धारणा राखे ।