
बाबुको मुख हेर्ने दिनको अवसर पारेर चितवनको चौविसकोठीमा आजबाट कपडा बैंक संचालन गरिएको छ। भरतपुर महानगरको समन्वयमा बेटर चितवन र रोट्र्याक्ट क्लब अफ नारायणी मिड टाउनले कपडा घर सञ्चालनमा ल्याएको हो ।
पछिल्लो समय देशको संघीय राजधानी काठमाडौंमा कपडा बैंक सञ्चालन गरिएसँगै अहिले युवाले विभिन्न शहर बजारमा कपडा बैंक सञ्चालन गर्दै आएका छन्।कपडा बैंक सञ्चालन भएसँगै आफूसँग भएकाले कपडा दान गरिरहेका छन् भने आवश्यकता परेका विपन्न गरिव समुदायका स्थानीयले लैजाने गरेका छन्।
कपडा बैंकको उद्घाटन गर्दै भरतपुर महानागरपालिकाकि प्रमुख रेनु दाहालले निशुल्क कपडा घर सञ्चालनमा आउनु निक्कै नै सह्रानीय कदम भएको बताउनुभएको छ। यस्तो पुण्यको काम जिल्लाको अन्य स्थानमा पनि क्रमस सञ्चालन गर्दै जानुपर्नेमा मेयरले जोड दिनुभएको छ। यस्ता विभिन्न सामाजीक काममा महानगर विभिन्न संघ संस्थासँग सहकार्य, समन्वय गर्दै अघि बढ्ने प्रतिवद्धता पनि जनाउनुभएको छ।
घरमा रहेका पुराना कपडा संकलन गरी विपन्न वर्ग समुदायका व्यक्तिलाई दिन कपडा बैंक सञ्चालन गरिएको हो। सोमबार सञ्चालन गरिएको कपडा बैंकमा दुई दर्जन बढी विपन्न वर्ग परिवारका व्यक्तिले संकलन भएका लुगा कपडा लगेको सञ्चालक बेटर चितवनका संस्थापक सयोजक सागर कार्किले बताउनुभयो।
‘आफूले लगाइ सकेको तर अझै पनि प्रयोग गर्न मिल्ने खालको कपडा चप्पल र जुत्ता छन् भने हामीले सुरू गरेको कपडा बैंकमा ल्याएर जम्मा गर्न सक्नुहुन्छ’,कार्कीले भने। ‘किनकी कतिपयको घरमा साइज नमिलेर पनि कपडा त्यत्तिकै बसेको हुन्छ। फाल्न पनि मन लाग्दैन। जोकसैलाई सहजै दिन पनि अप्ठ्यारो भएमा अब यहाँ ल्याएर राखिदिए आवश्यक पर्नेले सित्तैमा लैजान सक्ने सञ्चालक बताए ।
उदघाटन कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत नेत्र प्रसाद सुवेदी, भरतपुर १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी लगायत विभिन्न सामाजीक संघ संस्थाका अभियान्ताहरुको उपस्थिति रहेको थियो ।