Breaking News :

युट्यूबलाई व्यवस्थित गर्नुपर्ने बेला आएको छ:-सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले युट्यूबलाई व्यवस्थित गर्नुपर्ने बेला आएको बताउनुभएको छ । बिहीबार मन्त्रीपरिषदले गरेका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा उहाँले युट्यूब च्यानलमा उत्तेजना फैलाउने र अप्रिय घटना निम्त्याउने किसिमका सामग्री प्रसारण भइरहेको तिनलाई व्यवस्थित गर्नेपर्ने बताउनुभएको हो ।

‘के मिडिया हो ? के सामाजिक सञ्जाल हो ? हामीले बहस थालेका छौँ । दुवैलाई एउटै डालोमा हाल्नु हुँदैन, अनुसन्धानलाई प्रभावित तुल्याउने हिसाबले जुनखालको सामग्री युट्यूबमा आइराछ, यसले समाजलाई दिगभ्रमित पारेको छ, विभिन्न घटनालाई बङ्ग्याउने र प्रहरी प्रशासनलाई राम्ररी अनुसन्धान गर्न पनि नदिने यस्तै कुरालाई व्यवस्थित गर्न सूचना प्रविधि ऐन, ल्याइएको जुन संसदीय समितिमा छलफलको क्रममा छ’ उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले नेपाली प्रेस आफ्नै सुनिश्चित र सुरक्षित जिम्मेवार, मर्यादित तथा भविष्यका निम्ति सबभन्दा बढी जिम्मेवार बनोस् भन्ने उद्देश्यले आमसञ्चार ऐन र सूचना प्रविधि ऐन फरकरुपमा ल्याएको तर यसलाई सञ्चार जगत्ले नै अपव्याख्या गरिरहेको गुनासो गर्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जानुभएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीको स्वास्थ्याबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले प्रधानमन्त्री नियमित परीक्षण र नयाँ औषधि चलाइएकाले त्यसलाई कसरी मजबुत बनाउने भन्नेबारे सिङ्गापुर जान लाग्नुभएको उल्लेख गर्नुभयो ।

उहाँले प्रधानमन्त्रीले नयाँ औषधि प्रयोग गरिसकेपछिको प्रभाव कस्तो हुन्छ, त्यसका आधारमा थप स्वास्थ्य परीक्षण पनि हुनसक्ने जानकारी दिनुभयो । प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर सक्कली र नक्कली बहसहरू चलेको टिप्पणी गर्दै सञ्चारमन्त्रीले अगाडि थप्नुभयो, ‘प्रधानमन्त्रीको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी बहस चलिरहेका छन् । सक्कली कुरा १२ वर्ष अगाडि उहाँ (प्रधानमन्त्री ओली) को मिर्गौला प्रत्यारोपण भएको हो । नक्कली कुरा चाहिँ जोतिषलाई हेराएर आएर समाचार लेख्ने, फेसबुक वा ट्वीट गर्ने । डेढअक्कली कुरा स्वास्थ्य लाभको कामना पनि गरियो कि गरिएन भनेर बहस झिक्ने कुरा हो ।’रासस

merokhabarsathi

Read Previous

आज श्रीकृष्ण जन्माष्टमी, यस्तो छ कृष्ण लिला

Read Next

आराधना गरेर राजतन्त्र फर्कदैन:-सञ्चारमन्त्री बाँस्कोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *