Breaking News :

भ्रष्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री पक्राउ

भ्रष्टाचार आरोपमा भारतका पूर्व अर्थमन्त्री पी. चितम्बरम पक्राउ परेका छन् । चितम्बरमलाई उनकै घरबाट केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)को टोलीले पक्राउ गरेको हो ।

उनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ । उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी छ । आईएनएक्स मिडियासँग सम्बन्धित भ्रष्टाचारका अभियुक्त चितम्बरमले अगि्रम जमानतको याचिका दिल्ली हाई कोर्टसमक्ष गरेका थिए, तर त्यो खारेज भएपछि सीबीआईले पक्रेको हो । मिडिया कम्पनी आईएनएक्सलाई फाइदा हुने गरी विदेशी लगानी स्वीकृत गर्ने विभाग फरेन इन्भेष्टमेन्ट प्रमोशन बोर्ड (एफआईपीबी)मार्फत् अनियमितता गरेको आरोप चितम्बरमलाई लागेको छ । उक्त मिडिया कम्पनीलाई विदेशी लगानीको स्वीकृति दिँदा चितम्बरम अर्थमन्त्री थिए । मंगलबारदेखि उनी सम्पर्कमा थिएनन् । तर बुधबार साँझ स्थानीय समयअनुसार सवा आठ बजे कांग्रेस कार्यालयमा पुगेर उनले पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा उनले आफूमाथि लागेको भ्रष्टाचारको आरोप सही नभएको दाबी गरे । उनले आफू नभागेको बरु आफ्नै हितको रक्षाका लागि कानुनको शरणमा गएको पनि बताएका थिए । यद्यपि उनको पत्रकार सम्मेलनमा सीबीआईको टोली पुगे पनि त्यहाँबाट पक्राउ गरेन । पत्रकार सम्मेलनपछि उनी जोरबागस्थित आफ्नो घर फर्किएका थिए । उनी घर पुगेको केही मिनेटमै सीबीआईको टोली पनि त्यहाँ पुग्यो । तर, चितम्बरमको घरको ढोका खुलेन । टेलिभजन च्यानलहरुबाट प्रसारण गरिएको भिडियोमा ढोका फोडेर सीबीआईको टोली घरभित्र प्रवेश गरेको देखिन्छ । त्यसपछि सुरक्षाका लागि दिल्ली प्रहरीलाई पनि बोलाइयो । केहीबेरमा चितम्बरमका कार्यकर्ताहरु घरबाहिर भेला भएर सरकार र प्रहरीविरुद्ध नाराबाजी सुरु गरे ।

यसअघि सीबीआईको टोली मंगलबारै उनको घरमा पुगेको थियो, तर उनी फेला नपरेपछि पूर्जी छाडेर हिँडेको थियो । सीबीआईले भनेको थियो, हामी चितम्बरमलाई पक्राउ गर्न खोजिरहेका छौं, तर उनी फेला परिरहेका छैनन् । जबकी कांग्रेस कार्यालयमा पत्रकार सम्मेलन गर्दा सीबीआईको टोली पनि त्यहीँ थियो तर गिरफ्तार गरेन । चितम्बरम घर आएपछि मात्र सीबीआईले नियन्त्रणमा लियो र सीबीआई मुख्यालयमा लगियो । यस कार्यलाई ‘सीबीआईको भयंकर नाटक’ भनेर मिडियाहरुले टिप्पणी गरेका छन् ।

merokhabarsathi

Read Previous

प्रधानमन्त्री ओली आज सिङ्गापुर जाँदै

Read Next

पत्रकार पुडासैनी मृत्‍यु प्रकरण:निष्पक्ष छानबिन गर्न भरतपुर महानगरपालिकाको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *