पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछाने सहित तिनै जना विरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ ।
पुडासैनीको परिवारले महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र नर्स अस्मिता कार्की रुकु बिरुद्ध किटानी जाहेरी दिएको हो । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै गएर उजुरी दिएकी हुन् ।
शनिबार १३ दिनको काजक्रिया सकेर आइतबार उजुरी दिएको पारिवारीक स्रोतले जनाएको छ । किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारवाही गर्न माग गरेकी छिन् ।
पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।