पत्रकार शालिकराम पुडासैनीले मृत्यु अघि आफैले लिएकाे माेबाईल भिडियाेकाे डिजिटल फरेन्सिक रिपाेर्टका आधारमा प्रहरीले थप कारबाही अघि बढाउने भएकाे छ। प्रहरीले पत्रकार पुडासैनीकाे पाेष्टमार्टम रिपाेर्ट आएपछि बल्ल ‘एक्सन’ लिने भएकाे हाे।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले कारबाही अघि बढाउन परिक्षण प्रतिवेदन पर्खिएकाे प्रतिक्रिया दिए। उनले पाेष्टमार्टम रिपाेर्ट केहीसमयमै आउने र आज बिहिबार ल्याब रिपाेर्ट आएपछि मुलुकी अपराध संहिता अनुसार कारबाही अघि बढाउने बताए।
‘हामी स्पष्ट छाैं प्रचलित कानून अनुसार अनुसन्धान हुन्छ ‘ एसपी मल्लले भने ‘ हामी रिपाेर्ट पर्खिदै छाैं।’ प्रहरीले भिडियाेमा पाेलिएका ब्यक्तिहरू पक्राउ गर्ने वा नगर्ने निर्णय प्रहरी प्रधान कार्यालयले बिहीबार दिने फरेन्सिक रिपाेर्टपछि गर्ने मल्लले बताए।
प्रहरी प्रधान कार्यालय नक्सालमा रहेकाे प्रहरी ल्याबमा भिडियाे परिक्षण भएकाे हाे।फरेन्सिक जाँचमा भिडियाेमा रहेकाे आवाज पुडासैनीसँग मेल गराइन्छ। यस्तै भिडियाे बनेकाे मिती, स्थान र त्यसमा कुनै छेडछाड नभएकाे चेकजाँच हुन्छ उहाँले भन्नुभयो।
पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।
नेपालआज अनलाइनलको युट्युब च्यानलले बुधबार एउटा भिडियो सार्वजनिक गरेको छ।सार्वजनिक भिडियोमा करिब १० मिनेटभन्दा बढी उनले आफ्नो मृत्युको कारणबारे खुलाएका छन्। उनले रुँदै भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेका छन्। आत्महत्याको कारण न्युज२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधाकुरा जनतासँग’ टिमका रवि लामिछाने, युवराज कँडेल तथा अर्की एक युवती रहेको खुलाएका छन्।