Breaking News :

आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धन, देशभर मनाइदै

हिन्दु धार्मिक शास्त्र अनुसार हरेक वर्षको श्रावण महिनाको शुक्लपूर्णिमा-तिथिको दिनलाई जनैपूर्णिमा मनाइने चलन छ । हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दु समाजमा चलन छ ।

यसै दिन दाइभाई, दिदीबहिनीराखी तथा मन्त्र जपिएको रक्षाशुत्र बाँडी रक्षाको शुभकामना साट्ने पनि गरिन्छ । यसैले यस दिनलाई रक्षा बन्धन भनेर पनि चिनेने गरेको छ । नेपालकै नेवार समुदायमा यसलाई “गुनुपुन्ही” भनेर मनाइन्छ । यसवाहेक कजरी पूर्णिमा, नरियलपूर्णिमा, अवनि अवित्तम तथा जे सुकै नामले समेत यस दिनलाई चिनिन्छ।

विभिन्न ठाउँ, चलन तथा धार्मिक परम्पराअनुसार यस पर्वलाई फरकफरक ढंगले मनाए पनि ब्राह्मण तथा क्षत्रीयहरुका लागि यो पर्वविशेष महत्वपूर्ण मानिन्छ । यस दिन विहान सबेरै उठेर नदी तथा जलाशयमा गई स्नान गरेर शुद्ध भएपछि जप, ध्यान गरी वैदिक विधिअनुसार भगवान शिवजीको पूजा गरी वैदिक मन्त्रहरुले नयाँ जनै(५४ सरा धागोले ब्रह्म गाँठो पारी बनाइएको यज्ञ सुत्र) मन्त्रेर पुरानो जनै निकाली फेरिन्छ । जनै फेर्दा ” यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहज पुरस्तात्। आयुष्यमग्रम् प्रतिमुंच शुभ्रम् यज्ञोपवीतं बलमस्तु तेज:। ” मन्त्र उच्चारण गरी लगाउनु पर्दछ । जनैमा प्रयोग हुने डोरा, ग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन। यी कर्महरू गर्दा व्यक्ति, देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। जसको वैदिक विधिअनुसार चूडोपनयन(ब्रतबन्ध) कर्म भैसकेको छ, ऊ व्यक्ति मात्र जनै लगाउन योग्य हुन्छ । जनै लगाउनाले आयु तथा बल वृद्धि हुने तथा पापनाशक हुने कुराको विश्वास गरिन्छ ।

त्यस्तै रक्षाबन्धन(तीन सराभन्दा बढी भएको धागोलाई विभिन्न रंगले रंग्याइएको डोरा) लाई वैदिक मन्त्रहरुले मन्त्रेर …”येनबद्धो बलीराजा दानबेन्द्रो महाबलः तेन त्वां प्रतिबध्नामि रक्षे माचल मा चल “। भन्ने मन्त्र उच्चारण गरी दाहिने हातको नाडीमा बाँधिन्छ । यसो गर्नाले आफ्नो रक्षा हुने, बल वृद्धि हुने र पुण्यप्रदायक मानिने जनविश्वास छ । अर्थात् सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जस्ले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैगरी म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ- भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ। यसका साथै यो दिन विभिन्न मिष्ठान्न परिकारहरु बनाई खाने गरिन्छ । विशेष गरी नेवार समुदायबाट सुरु गरिएको क्वाँटी(नौ प्रकारको गेडागुडी) खाने चलन अरु समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ। यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने विश्वास गरिन्छ। नेवार समुदायमा आजको दिनलाई गुन्हु-पुन्ही भनी मनाइने परम्परा छ । यस दिन बाँधिएको डोरालाई ३ महिनापछि लक्ष्मीपूजाको दिन फुकाई गाईको पुच्छरमा बाँध्ने गरिन्छ, यसो गर्नाले मरेपछि वैतरणी नाम गरेको नदी पार गर्न तिनै गाईले सहयोग गर्नेछिन् भन्ने कुराको विश्वास गरिन्छ ।

बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतमबुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितविस्तरमा यससम्बन्धी विस्तृत रुपमा व्याख्या गरिएको छ । यसैका कारण आज स्वयम्भूमा पनि विशेष मेला लाग्ने गर्दछ ।

आज काठमाडौँको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्छ ।

merokhabarsathi

Read Previous

भिटो एजुकेशनद्धारा अरुणोदय माविमा डस्टबिन बितरण

Read Next

यस्तो छ जनैपूर्णिमाको पौराणिक कथा

Leave a Reply

Your email address will not be published. Required fields are marked *