हिन्दू महिलाको महान पर्वको रुपमा मानिने हरितालिका तीज नजिकिँदै गर्दा कास्की जिल्ला प्रशासनले तीजमा हुने भड्किलो गतिविधि रोक्न सूचना प्रकाशित गरेको छ।
केही वर्षयता तीजको नाममा महीना दिन अगाडिदेखि हुने भड्किलो गतिविधिले तीजको सांस्कृतिक एवं धार्मिक महत्वलाई गौण बनाउँदै लगेको भन्दै यसको संरक्षणमा जुट्न केही दिनअघि नारी जागरण अभियानले मुख्यमन्त्री, पोखरा महानगरपालिका प्रमुख, जिल्ला प्रशासन कार्यालयलगायतमा ज्ञापनपत्र बुझाएको थियो।
मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, आन्तरिक मामिलामन्त्री, प्रमुख प्रमुख जिल्ला अधिकारी सबैले तीजको मौलिकतालाई जोगाउन र भड्किलो गतिविधि रोक्न प्रयास गरिने प्रतिवद्धता व्यक्त गरेका थिए।
प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलेद्वारा हस्ताक्षरित सूचनामा तीजको मौलिकता विपरीतका भड्किलो गतिविधि रोक्न आग्रह गरिएको छ। कहीँ कतै सूचनाको बर्खिलाप भएमा कानूनबमोजिम कारवाही हुने व्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ।