Breaking News :

भरतपुर महानगरपालिकाले विपद् तथा प्रकोपको घटनाबाट मृत्यु हुनेलाई राहत स्वरुप एक लाख रुपैयाँ दिने

भरतपुर महानगरपालिकाले विपद् तथा प्रकोप व्यवस्थापन गर्न कोष सञ्चालनका लागि मापदण्ड बनाएको छ । महानगर भित्रको विपद् व्यवस्थापन सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन ११ वटा नियमसहितको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि तयार गरेको हो ।
विपद् तथा प्रकोपको घटनाबाट मृत्यु हुने व्यक्तिलाई राहत स्वरुप एक लाख रुपैयाँ प्रदान गर्नेगरि कोष सञ्चालन मापदण्ड बनाएको छ । विपद् तथा प्रकोप समितिको सिफारीसको आधारमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकाले बनाएको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधिको कोष २०७६ मा विपद्बाट घर तथा खाद्यन्न नष्ट भएमा तत्कालका लागि १० हजार रुपैयाँ प्रदान गरिने उल्लेख गरिएको छ । विपद्का घटनामा परि खाद्यन्न, लत्ताकपडा र घर पूर्ण रुपमा नष्ट भएर अन्यन्त्र सार्नुपर्ने भएमा ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको महानगरका विपद् व्यवस्थापन शाखा अधिकृत झलककुमार श्रेष्ठले जानकारी दिए ।

भूकम्प, बाढी, पहिरो, आगलागी, असिनापानी, हुरीबतासका साथै अन्य प्रकोपका कारण भएको हवाई, सडक, एवम् डुङ्गा दुर्घटनाबाट प्रभावित पीडितहरुलाई मात्र राहत सहयोग उपलब्ध गराउने व्यवस्था गरका छौँ,’ श्रेष्ठले भने, ‘राहत उपलब्ध गराउँदा अनिर्वाय प्रहरी मुचुल्का समावेश गर्नुपर्नेछ ।’ प्रकोपका पीडितलाई आश्रयस्थल निर्माण गर्न, सहुलियत दरमा निर्माण सामग्री काठ र उपचारका लागि हस्पिटल पुर्याउने व्यवस्था गरिएको उनले जानकारी दिए ।

कोष व्यवस्थापन एवंम् सञ्चालन, आर्थिक सहायता एवंम् पूर्वतयारी योजना, अधिकार प्रत्योजन, लेखा परीक्षण कोष सञ्चालन गर्नेगरि कार्यविधि तयार गरिएको श्रेष्ठले बताए । महानगर भूकम्पका दृष्टिले उच्च जोखिममा रहेको बताईएको छ । त्यसपछि बाढी, वन्यजन्त आतंक, सर्पको टोकाई, हुरीबतासलाई प्राकृतिक विपद् महानगरले राखेको छ । त्यस्तै सडक दुर्घटना, माहामारी, डुवान, करेन्टलाई गैरप्राकृतिक प्रकोपमा वर्गीकरण गरेको छ ।

महनगरले भरतपुरका १२, १६, २२, २३, २४, २५, २७, र २८ नम्बर वडा बाढीबाट उच्च जोखिमको क्षेत्र घोषणा गरेको छ । २९ नम्बर वडालाई पहिरोको उच्च जोखिम क्षेत्र घोषणा गरिएको शाखा अधिकृत श्रेष्ठले बताए ।

भरतपुर महानगरले यसअघि नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ जारी गरेको छ । विपद्को योजना, पूर्वतयारी, प्रतिकार्य, जोखिम न्यूनीकरण, उद्धार, राहत, पुर्नस्थापना, पुर्ननिर्माण जस्ता कार्यको विभाजन गरेको छ । विपद् व्यवस्थापनका लागि महानगरले दुई करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । उक्त कोषको रकम भिन्नै खाता खोलेर जम्मा गरिने मापदण्डमा उल्लेख गरिएको छ । समितिको सदस्य सचिव र आर्थिक प्रशासन महाशाखा प्रमुख वा महानगरपालिकाले तोकेको एक जना लेखा अधिृकतको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन गरिने श्रेष्ठ बताए ।

merokhabarsathi

Read Previous

वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाइने

Read Next

रगंशाला निर्माणका लागि बिहीवार ५८ लाख संकलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *