Breaking News :

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य भोलिबाट शुरु गरिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य भोलि मङ्गलबारबाट शुरु गरिने भएको छ। यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि रोकिएको काम पुन संचालनमा आउने भएको हो।

सीताराम कट्टेल (ध्रुर्मुश), कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रङ्गशाला निर्माण थालिएको हो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल “ध्रुर्मुश”ले मङ्गलबारबाट काम शुरु गर्न लागिएको जानकारी दिए।

कट्टेल चितवन आइसक्नु भएको छ भने फाउण्डेसनका कर्मचारी आज आउँदै छन्। कट्टेलका अनुसार आज बिहान रङ्गशाला निर्माण सहयोग समितिका पदाधिकारीसँगको छलफलपछि काम शुरु गर्ने सहमति भएको हो। समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार आजको बैठकमा उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, निजामती कर्मचारीलगायत जो जसले जेजति रकम रङ्गशालाका लागि बोलकवल र सङ्कलन गरेको छ, यथाशीघ्र फाउण्डेसनलाई हस्तान्तरण गरिने सहमति भएको छ।

सातवटै पालिकामा चार दिनभित्र सहयोग समिति गठन गरी नयाँ ऊर्जाका साथ कामलाई अघि बढाउने सहमति भएको डल्लाकोटीले जानकारी दिए। गुरुयोजना बनाउने कामलाई तीव्रताका साथ अघि बढाउने पनि छलफलमा सहमति भएको छ। संयोजक डल्लाकोटीले रङ्गशाला नेपालीको सम्पत्ति हुने भएकाले सबैको साथ र सहयोगबाट नयाँ ऊर्जाका साथ काम थाल्न लागिएको बताए।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मङ्गलबारबाट फाउण्डेसनले काम अघि बढाउने भन्दै सबैलाई सहयोगका लागि आग्रह गरिन्। रङ्गशला निर्माणका लागि वातावरण बनिसकेको भन्दै उनले वर्षात्को समयमा गर्न मिल्ने काम अघि बढाइने बताए।

आर्थिक सङ्कलन गरी पहिलो चरणमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर छिटो निर्माणको काम शुरु गर्ने योजना रहेको दाहालको भनाई छ। फाउण्डेसनका अध्यक्ष कट्टेलले विस्तृत अध्ययन प्रतिवेदनको काम जहाँ पुगेको छ, आजैबाट त्यो अघि बढ्ने जानकारी दिँदै रङ्गशालाको निर्माणस्थलको काम पनि अघि बढाइने बताए।

बार, मैदान व्यवस्थापन र आवश्यक संरचना निर्माणका काम अघि बढाइने उनको भनाइ छ। रङ्गशाला निर्माणका लागि रु ६ करोड ५० लाख बोलकवल भएको भए पनि हालसम्म सबै रकम सङ्कलन भइसकेको छैन। फाउण्डेसनले दुवई र मलेसियामा आर्थिक सहयोगका लागि रकम सङ्कलन गर्न कार्यक्रम गरिसकेको छ।

काम शुरु भएसँगै अन्य देशमा पनि आर्थिक सहयोगका लागि कार्यक्रम शुरु गरिने उनले जानकारी दिए। झण्डैं रु तीन अर्ब लगानी गरेर रङ्गशाला निर्माण गर्न लागिएको हो। भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा रङ्गशाला निर्माणका लागि छुट्याएको छ।

merokhabarsathi

Read Previous

चितवनमा नहरमा पौडी खेल्दा एक जनाको मृत्यु

Read Next

चितवन राइडर्स क्लबको अध्यक्षमा खरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *