ठूलो वर्षा गराउने मौसमी प्रणाली मनसुन न्यून चापीय रेखा भारतबाट नेपालतर्फ नजिकिँदै गरेकाले वर्षाको मात्रा पुनः बढ्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार हाल नेपालदेखि दक्षिण रहेको न्यून चापीय रेखा बिस्तारै उत्तर आउने क्रममा छ। त्यसैकारण नेपालमा मौसम बदली र वर्षा हुने क्रम क्रमशः बढ्दै गएको छ।
देशको पूर्वी क्षेत्रका केही स्थानमा बिहानैदेखि मेघगर्जनसहित वर्षा भइरहेको र दिउँसो अन्य स्थानमा पनि पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन्।
‘दिउँसो देशका केही स्थानमा वर्षा हुने सम्भावना छ,’ उनले भनिन्, ‘दिउँसोभन्दा रातितिर बदली अझ सक्रिय हुने देखिएको छ, मध्य र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।’