Breaking News :

यसरी भयो नेकपामा भागबन्डा (विभागहरूको सूची)

नेकपामा केही महत्वपूर्ण विभागहरूको नेतृत्वको टुंगो लागेपनि स्कुल विभागमा अझै सहमती जुटेको छैन।

पार्टीका महत्वपूर्ण विभागहरूमध्ये विदेश विभाग प्रमुखमा बरिष्ठ नेता माधव नेपाल र संगठन विभाग प्रमुखमा सचिवालय सदस्य वामदेव गौतमलाई चयन गर्ने सहमती भैसकेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपालले गौतमलाई संगठन विभाग प्रमुख बनाउन पहल गरेपछि अन्ततः अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि यसमा सहमत भएका हुन्।

बिहीबार बालुवाटारमा अध्यक्ष ओलीले पार्टी सचिवालयका पूर्व एमालेका ६ जना सदस्यलाई बोलाएर नेपाल र गौतमलाई महत्वपूर्ण विभागको प्रमुख बनाउने सहमती जुटाएका हुन्। यो बैठकले पार्टीको नीति अध्ययन प्रतिष्ठानको प्रमुख झलनाथ खनाललाई बनाउने निर्णय पनि गरेको छ।

बरिष्ठ नेता नेपाल नेकपामा अध्यक्ष ओली र दाहाल जत्तिकै शक्तिशाली छन् भने संगठन विभाग प्रमुख बनाइएका गौतम दाहाल–नेपाल निकट मानिन्छन्।

पाँच वटा महत्वपूर्ण विभागमध्ये एक स्कुल विभागमा पूर्व माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठ र पूर्व एमालेको तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेलले दाबी गरेका छन्।

श्रेष्ठ अहिले नेकपाका प्रवक्ता हुन् भने नौ जना सचिवालय सदस्यको सूचीमा उनी ईश्वर पोखरेलभन्दा एक तह अगाडि छन्। पोखरेल उपप्रधान तथा रक्षामन्त्री रहेकाले श्रेष्ठले नै स्कुल विभाग पाउनु पर्ने मत नेकपाभित्र रहेको छ।

त्यसो त महत्वपूर्ण विभागहरूमध्ये विदेश र संगठन विभाग प्रमुख पूर्व एमालेले पाएकाले स्कुल विभागको प्रमुख आफुले पाउनु पर्ने दाबी पूर्व माओवादी पक्षले गरिरहेको छ।

सुरुदेखि संगठन विभागको नेतृत्व खोजिरहेका पोखरेलले भने अहिले आएर स्कुल विभागको प्रमुख दाबी गरेका हुन्।

‘विदेश र संगठन जस्ता महत्वपूर्ण विभागको नेतृत्व पूर्व एमालेका नेताहरूले लिने भएएपछि स्कुल विभाग हामीले दाबी गर्नु स्वाभाविक हो’, पूर्व माओवादी तर्फका नेकपा स्थायी समितिका एक सदस्यले नेपालखबरसँग भने, ‘स्कुल विभागको प्रमुख नारायणकाजी श्रेष्ठ हुँदा संभवतः पम्फा भूसालले प्रचार विभागको जिम्मेवारी लिनु हुनेछ।’

केही दिनअघि बालुवाटारमा विभागहरूको बाँडफाँडमा सहमती हुँदा अध्यक्षद्वय ओली र दाहालबीच स्कुल विभागमा कुरा नमिलेपछि अध्यक्षद्वयले नै हेर्ने छलफल पनि भएको थियो।

‘सहमती नजुटेपछि स्कुल विभाग अध्यक्षद्वयले नै हेर्न पनि सकिन्छ भनेर त्यो बैठकबाट उठेका हौं’, एक जना सचिवालय सदस्यले शनिबार बिहान नेपालखबरसँग भने।

त्यही आसयमा सामाजिक सञ्जाल मार्फत नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले स्कुल विभाग अध्यक्षद्वयले नै राख्नु उपयुक्त हुने सुझाव समेत दिएका छन्।

यी हुन् पूर्व एमालेको भागमा परेका १८ विभागहरूः
१. अर्थ तथा योजना
२. उद्योग तथा वाणिज्य
३. निर्वाचन
४. न्याय, कानुन तथा मानवअधिकार
५. पर्यटन पर्वद्धन तथा नागरिक उड्डयन
६. प्रादेशिक मामला
७. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था
८. युवा तथा खेलकुद
९. विदेश मामला
१०. श्रम तथा रोजगार
११. संगठन
१२. संघीय संसदीय
१३. समाज कल्याण
१४. सहकारी तथा गरिबी निवारण
१५. सहरी विकास
१६. सामान्य प्रशासन
१७. स्वास्थ्य तथा जनसंख्या
१८. नीति अध्ययन प्रतिष्ठान

पूर्व माओवादीको भागमा परेका १४ विभागहरूः
१. उपभोक्ता हित तथा आपूर्ति
२. कृषि तथा भूमिसुधार
३. कोष तथा आर्थिक व्यवस्थापन
४. खानेपानी तथा सरसफाइ
५. जलस्रोत, सिँचाइ तथा ऊर्जा
६. प्रचार तथा प्रकाशन
७. पुस्तकालय तथा अभिलेख
८. राजकीय मामला तथा सुशासन
९. राष्ट्रिय सुरक्षा पर्वद्धन
१०. वन तथा वातावरण
११. विज्ञान तथा प्रविधि
१२. शिक्षा तथा मानवस्रोत
१३. साहित्य, कला तथा संस्कृति
१४. स्थानीय तह

नेपाल खबर बाट

merokhabarsathi

Read Previous

पुनः सक्रिय हुँदै मनसुन

Read Next

सेवाग्राहीसँग लिएको घुससहित नगरपालिकाका सव–इञ्जिनीयर पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *