Breaking News :

आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीमा कस्तो प्रभाव ?

सबै ग्रहहरु निरन्तर आफ्नो दिशा र गतिमा घुमिरहेका हुन्छन् । यही क्रममा जब चन्द्रमा र पृथ्वीको बीचमा राहु र केतु आइपुग्छ, त्यसको कालो धब्बा पृथ्वीमा पर्छ । ग्रहहरुको यस अवस्थितिलाई हामी खण्डग्रास चन्द्रग्रहण भन्छौं ।

खण्डग्रास चन्द्रग्रहणमा के गर्ने, के नगर्ने भन्ने कुरा गर्दा कतिपयलाई यो अन्धविश्वास जस्तो लाग्छ । तर, चन्द्रमामा राहु र केतुको जुन छायाँ ग्रह पर्छ, त्यसबाट उत्पन्न नकारात्मक ऊर्जाले पृथ्वीका प्राणी मात्र होइन, चराचर जगतलाई नै असर पार्छ । यो असर पनि ग्रह अनुसार फरक हुन्छ ।

आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ ।

ग्रहणले राति १ बजेर ४६ मिनेटबजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र पोखरेलले जानकारी दिए । बुधबार बिहान ३ बजेर १५ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । बुधबार बिहान ४ बजे ४५ मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए ।

उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशीका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशीले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

कर्कट, तुला, कुम्भ र मीन राशि भएकाहरुले भने ग्रहण हेर्नु हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकका नदी, ताल, तलाउ, पोखरी र सम्भव नभए घरमै स्नान गर्नुपर्ने ‘निर्णयसिन्धु’, ‘हेमाद्री’ ‘कालमाधव’, ‘वीरमित्रोदय’ लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने धर्मग्रन्थमा उल्लेख रहेको बताइन्छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद गौतमले बताए । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । असार ३१ गते अपराह्न ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यतानुसार भोजन निषेध रहेको उनले बताए ।

 

merokhabarsathi

Read Previous

आदर्श नारी विकास केन्द्रको रजत महोत्सवका कार्यक्रमको आम्दानी तथा खर्च विवरण सार्वजनिक

Read Next

आज गुरु पूर्णिमा, श्रद्धाभाव प्रकट गरी मनाइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *