भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच भएको भिडन्तमा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।
भोजपुरको सदरमुकामस्थित शनिबारे हटिया लाग्ने स्थानमा विप्लव नेतृत्वको कार्यकर्ताले प्रहार गरेको गोली लागेर प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको हो ।
विप्लव नेतृत्वको कार्यकर्ताले गोली प्रहार गरे लगत्तै प्रहरीले पनि प्रतिकार गरेको थियो । प्रहरीले गोली चलाउँदा विप्लव कार्यकर्ता नीरकुमार राईको पनि मृत्यु भएको छ ।
स्थानीय पाँचधारे होटलमा विप्लवका कार्यकर्ताहरु बास बसेको सूचना पाएपछि सर्च अभियानमा गएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले आक्रमण गरेका हुन । प्रहरीले एक जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ ।
अर्का एक जना घाइते भएका छन् । मारिने नीरकुमार राई विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज भएका बताइएको छ ।