प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन् । प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको पनि स्पष्ट पारे ।
निगमको ६१ औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकार्वाहीमा सुधार नभए सरकार त्यसका संचालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि स्पष्ट पारे ।
‘निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आउनु पर्यो, नभए त्यसको संचालनका लागि सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुनेछ,’ प्रधानमन्त्री ओलीको नेपाल वायु सेवा निगमलाई प्रश्न थियो, ‘निजी क्षेत्रले चलाउन सक्ने विमान किन निगमले चलाउन सक्दैन ?’
प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाए । उनले सरकार निगमको साथमा रहेको तर निगमले विमान संचालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरे । प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान भर्नका लागि युरोपियन मुलुकहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरुलाई चुस्त राख्न पनि सचेत गराए ।
आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटने गरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि छ । उनले विमान संचालनको स्पष्ट योजनाका साथ काम गर्न पनि निगम व्यवस्थापनलाई सचेत गराए । प्रधानमन्त्री ओलीले निगमलाई आवश्यक बजेट दिन सकिने तर त्यसका लागि व्यवस्थापनमा सुधार हुनुपर्ने पनि स्पष्ट पारे ।