Breaking News :

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसियाली बाख्रा विज्ञ सम्मेलन हुने

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ । सम्मेलनमा १४ देशमा बाख्रा अनुसन्धान तथा विकासका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउन सफल वैज्ञानिक, अनुसन्धानकर्ताहरु सहभागी हुनेछन् ।

विश्वविद्यालय अन्र्तगत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा आगामी कार्तिक ३ गतेदेखि ६ गतेसम्म विश्वविद्यालयको बहुउद्देश्यीय भवनमा सम्मेलन हुने संकाय डिन प्रा.डा. शारदा थपलियाले पत्रकार सम्मेलन गरेर जानकारी दिइन् ।

सम्मेलनमा नेपालमा बाख्रा विशेषज्ञ, पशु क्षेत्रमा काम गरिरहेका विज्ञ, उद्यमी र किसानहरुको सहभागिता रहने उनले बताइन् सम्मेलनमा  नेपालसहित भारत, पाकिस्तान, चीन, क्यूवा, अमेरीका, क्यानडा, इटाली, जापान, हंगेरी, चीन, इन्डोनेशिया, बंगलादेश, फ्रान्स र केन्या देशका बाख्रा विषेशज्ञ सहभागी हुनेछन् ।

चारदिनसम्म चल्ने सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य श्रृङ्खला र विकास, बाख्राको आहार, पोषण तथा वासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन् तथा जैविक प्रविधि व्यवस्थापन विषयमा कार्यपत्र पेश हुनेछ ।

त्यस्तै स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधिसम्बन्धी करीव ७ वटा विशेषज्ञ, २१ वटा आमन्त्रित, ३५ वटा मौखिक एवम् ५२ बढि पोष्टरहरु गरी जम्मा ११५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गरिने सम्मेलनका सदस्य सचिव डा. निराजन भट्टराईले जानकारी दिए ।

सम्मेलनमा बाख्रापालन व्यवसायको विश्वव्यापी चुनौतीका रुपमा रहेको पीपीआर रोग र त्यसको नियन्त्रण जस्ता विभिन्न विषयमा समूहगत छलफल गरिने डा. भट्टराईको भनाइ छ । सम्मेलनमा अन्तर्राष्ट्रिय बाख्रा एसोसिएशनका अध्यक्ष डा. वेथ मिलर, आगामी बर्ष हंगेरीमा हुने अन्तर्राष्ट्रिय बाख्रा विज्ञ सम्मेलन २०२० को आयोजक समितिका अध्यक्ष डा. सान्डोर कुकोभिक्स, चीनको हेवई कृषि विश्वविद्यालय डीन प्रा.डा.यिङ्गजी झाङ, जापानको मिजो विश्वविद्यालयका प्रा.डा. योशिहाकी हायासी लगायतका विषेशज्ञ सहभागी हुनेछन् ।

विकासशील विश्वमा खाध्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन भन्ने मूल नाराका साथ हुने सम्मेलनले चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा बैज्ञानिक बाख्रापालनको नमूना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने दीर्घकालीन उद्देश्य लिएको कार्यक्रम संयोजक प्रा.डा. शारदा थपलियाले जानकारी दिइन् ।

merokhabarsathi

Read Previous

भरतपुर नगरपालिकाका संस्थापक मेयर चुकेको निधन

Read Next

को हुन्? सन्तोष राति महिलालाई किन तीखो वस्तुले घोच्थे?

Leave a Reply

Your email address will not be published. Required fields are marked *