Breaking News :

वर्षाका कारण सडक हिलाम्मे,सवारी आवागमनमा कठिनाइ, प्रहरी चौकिनै सारियो

पानी नपरेर निर्माणाधीन हुलाकी सडकमा उड्ने धुलोबाट आजीत ठोरीका स्थानीयहरु वर्षा सुरु भएको पहिलो दिनमा नै सडक हिलाम्मे भएपछि फेरि सास्ती भोग्न बाध्य भएका छन् ।बिरगंज ठोरी सडक खण्ड अन्तर्गत पर्ने ठोरी ४ निर्मलवस्ति र मालीवस्तिमा सडक हिलाम्मे भएपछि सवारी साधन आवतजावतमा कठिनाइ हुन थालेको स्थानिय सामुदायिक रेडियो बिजयबस्तीले जानकारी दिएको छ ।

हुलाकी सडकको निर्मलवस्तिमा बिछ्याइएको चिम्ट्याइलो माटोमा ग्राबेल नहुदा सडक हिलाम्मे भएको छ भने सवारी साधन चिप्लिएर गुड्नै नसक्ने स्थितिमा पुगेको छ।त्यसैगरी ओरीया खोलाको पुलदेखि मालीवस्ती खण्डमा पनि सडकमा पानी जमेर हिलाम्मे भएपछि आवागमन प्रभावित बनेको छ।हुलाकी सडक निर्माणको ठेक्का लिएको बानियाँ निर्माण सेवाले समयमा नै ग्राबेलको काम नथाल्दा सास्ती भोग्न बाध्य भएको स्थानीय राजपा नेता समेत रहेका राम बहादुर पाख्रीनले गुनासो गरे।पाख्रीन स्वयंपनि सडक हिलो भएर मोटरसाइकल चलाउन अप्ठ्यारो भएपछि काधमा सिलिन्डर बोकेर ग्यास भर्न लैजादै थिए।गत बर्ष पनि ४ न वडाकै विजयवस्तिदेखी मालीबस्ती सडक हिलाम्मे भएका कारण झन्डै एक महिना सवारी आवागमन नै बन्द भएको थियो।यस बर्ष उक्त खण्डमा ग्रावेल गरिएको छ।तर निर्मलवस्तिमा ग्रावेल नगरिएको त्यसैगरी निर्मलवस्ती र बिरेखोलाको बीचमा निर्माण भैरहेको कलभर्टका लागी बनाइएको डाइभर्सनमा चिम्ट्याइलो माटो प्रयोग गरिएका कारण सवारी आवागमन नै ठप्प हुने स्थितिमा छ।

डाइभर्सन अग्लो भएकालेे सवारी साधन चिप्लिएर दुर्घटनाको जोखिम बढेको सवारी चालकहरु बताउँछन्।उता ओरिया खोलादेखि मालीवस्तीसम्मको बाटोमा ग्रावेल नहालिएकोले सडकमा सवारी साधन गुडाउन समस्या भएको मालीवस्तीका स्थानीय युवा दीपक बस्नेतले जानकारी दिए ।वर्षा सुरु भएको पहिलो दिनमा नै धेरैजसो सवारी साधन सो ठाउँमा रोकिएका छन् ।सो सडकको बैकल्पिक व्यवस्था नहुदा अत्यावश्यक काम परेर यात्रा गर्ने यात्रु र बिरामी बोक्ने एम्बुलेन्स समेत रोकिनुपर्ने स्थिति छ।

यसैबीच वर्षा सुरु भएसंगै लगातार पानी पर्न थालेपछि विजयवस्ती प्रहरी चौकी डुबानमा परेको छ ।निर्माणाधीन हुलाकी सडकको उचाईका कारण सडक छेउमा नै रहेको चौकीबाट पानी बग्ने निकास नहुदा चौकी डुबानमा परेको हो।चौकी डुबानमा परेर दैनिक क्रियाकलाप समेत सन्चालन गर्न असहज हुन थालेपछि चौकी नजिकै रहेको विजयवस्ती स्वास्थ्य चौकी भवनमा सारिएको छ।तत्कालीन कन्या प्रावि मर्ज भएपछि विद्यालय भवनको तल्लो तलामा स्वास्थ्य चौकी सन्चालन हुँदै आएको थियो भने माथिल्लो तला प्रयोगबिहिन थियो।

प्रयोग बिहिन माथिल्लो तलामा आजदेखि प्रहरी चौकी सारिएको हो।४ न वडाका वडाध्यक्ष बई बहादुर पाख्रीन,सदस्य तेज बहादुर श्रेष्ठ ,विजयवस्ती माविका विव्यस अध्यक्ष मनोज श्रेष्ठ ,नेपाली काङ्ग्रेसका जिल्ला समिति सदस्य राम बहादुर श्रेष्ठ लगायत स्थानीयको उपस्थितिमा चौकी स्थानान्तरण गरिएको स्थानीय युवा सनम श्रेष्ठले जानकारी दिए।

merokhabarsathi

Read Previous

बाघको आक्रमणबाट घाइते सुवेदीको उपचारको क्रममा निधन

Read Next

लगातारको झरी नपरे नि बदली र वर्षाको सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *