यही असार १३ गतेदेखी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आप्पा’ भारतीय सिनेमा हलहरुमा समेत प्रदर्शन हुने भएको छ ।
आज चलचित्रको प्रचारप्रसारको क्रममा चितवन आइपुगेको चलचित्र युनिटले चलचित्र प्रदर्शनको बारेमा जानकारी दिदै नेपालका हलमासंगै भारतका २५ वटा हलमा चलचित्र प्रदर्शन हुने बताएको छ।
दार्जिलिङ देखी माथि रहेको सन्दपुरमा छायांकन गरिएको यस चलचित्रमा दार्जिलिङ देखी सन्दपुर सम्मको यात्राको कथा समेटिएको चलचित्रका मुख्य कलाकार दयाह्याङ राईले बताउनुभएको छ। यो चलचित्रमा कलाकार राइलाई ड्राईभरको मुख्य भूमिकामा देख्न सकिने बताइएको छ।
निर्देशक अनमोल गुरुङले भारतमा पनि नेपालीहरु धेरै भएकाले ‘आप्पा’ले दर्शकको मन जित्ने अपेक्षा रहेको बताउनुभएको छ । गुरुङले ‘आप्पा’ राम्रो बनेकोले एक पटक हल सम्म पुगेर चलचित्र हेर्न सबैलाई आग्रह गर्नुभयो।
चलचित्रमा दयाह्याङ सँगै निर्देशक अनमोल गुरुङ, पुराना कलाकार तथा निर्देशक तुलसी घिमिरे, सिद्धान्तराज तामाङ र अल्लोना काबो लेप्चा र अरुणा कार्की लगायतको पनि मुख्य अभिनय रहेको छ । सिद्धान्तराज र अल्लोनाको लागि यो डेब्यु चलचित्र हो ।