ओम अस्पतालले पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएको छ ।
रामप्यारीको गत शुक्रशार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
‘निको हुँदै छ भनेर डक्टर भन्नुभएको थियो । तर विहान सात बजे मृत्यु भयो भन्नुभयो’, बिरामीका आफन्तले भने, ‘अस्पतालको चरम लापरवाहीले राम्रै मानिसको पनि यो हालत भएको छ ।’ भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन् । उनीहरुले यसबारे उचित छानबिन हुनुपर्ने, डाक्टरले माफी माग्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।