निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाएको अभियोग लागेका प्रकाश कंडेलले रंगशालामा डोजर लाग्ने अवस्था सृजना हुनु दुःखद भएको बताएका छन् । आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनले गल्ती स्वीकार्दै आगामी दिनमा गल्ती नदोहोरिने गरी रंगशाला निर्माणको अभियानमा लाग्ने प्रतिबद्धता जनाए ।
आफूहरुलाई रंगशाला निर्माणको बिरोधीका रुपमा नलिन आग्रह गर्दै आरोपित प्रकाश कँडेलले रंगशाला निर्माणका लागि आफूहरुको सक्दो सहयोग गर्ने बताएका छन् । ‘भरतपुर महानगरपालिका, धुर्मुस सुन्तली फाउण्डेशन, राजनीतिक दल, जनप्रतिनिधिसहित कार्यक्रम गरेर रंगशालाको पक्षमा साझा संकल्प तयार पार्छौँ’ कँडेलले भने, –‘यो विषयमा धुर्मुस सुन्तलीसहित सबै पक्षसँग छलफल चलाइरहेका छौँ ।’ कुनै पनि हालतमा भरतपुर १५ मा रंगशाला निर्माण हुनुपर्ने कँडेलले बताए ।
उनेल भने, ‘सबैको तर्फबाट गल्ती भएको छ, यसलाई धेरै ठूलो बहस बनाउनु जरुरी छैन्, सबैले आफ्नो गल्ती स्वीकार गरिसकेका कारण अब रंगशाला निर्माणमा सबै लाग्नुपर्छ ।’ उनले भत्काइएको बार स्थानियले नै उठाउने बताएका छन्।