इंग्ल्यान्डमा जारी विश्वकप एकदिवसीय क्रिकेटमा अहिले भारत र दक्षिण अफ्रिका भिडिरहेका छन् ।
साउथह्याम्पटनमा जारी खेलमा दक्षिण अफ्रिकाले जितका लागि भारतलाई २२८ रनको सामान्य चुनौती दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १५८ रन बनाउँदा ७ विकेट गुमाएको थियो ।
आठौं विकेटका लागि बलरहरु क्रिस मोरिस र कागिसो रबाडाबीच ६६ रनको साझेदारी भएपछि उसले सम्मानजनक योगफल बनाएको हो ।
दक्षिण अफ्रिकाले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनायो । मोरिसले ३४ बलमा ४२ तथा रबाडाले ३५ बलमा अविजित ३१ रन जोडे ।
भारतका लागि युजभेन्द्र चहालले ४ तथा भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान २/२ विकेट लिए ।
भारतले जारी विश्वकपमा पहिलो खेल खेलिरहेको हो । दक्षिण अफ्रिकाले यसअघि खेलेका दुवै खेल हारेको थियो ।