रसुवास्थित त्रिशूली नदीमा टाटा सुमो खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो सोमबार साँझ मैलुङ–स्याफ्रु सडक खण्ड अन्तर्गत गुम्चेतमा दुर्घटना भएको प्रहरीले जनाएको छ। ११ जना सवार टाटासुमो सडकबाट त्रिशूली नदीमा खसेकाे हाे।
दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घलेको मृत्यु भएको छ।
दुर्घटनामा परेर ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी ल्तेतङ घले बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए।
दुर्घटनामा टाटासुमो चालक ३२ वर्षीय निमा तामाङ, ३५ वर्षकी जौरानी घले, ५ वर्षीय फुर्बु याङजेन तामाङ, २९ वर्षीय योङ जुङ तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ घाइते भएका छन्।
घाइतेलाई त्रिशूली अस्पताल उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ।