‘भोजपुर हत्याकाण्ड’ को बदला लिन सोलुको प्रहरी चौकीमा आक्रमण

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले अघिल्लो हप्ता भोजपुरमा मारिएका आफ्ना एक कार्यकर्ताको हत्याको बदला लिन सोलुको प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको हुनसक्ने अनुमान गरिएको छ।

अघिल्लो हप्ता ७ जेठमा भोजपुरको टेम्के मैयुङ गाउँपालिका– २ को धोद्रे जंगलमा विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरेको प्रहरीको गोली लागी मृत्यु भएको थियो।

आइतबार (१९ जेठ) आक्रमण प्रयास भएको सोलुको महाकुलुङ–३ स्थित छेस्काम घिमिरे मारिएको क्षेत्र नजिकै पर्छ। विप्लव समूहको आक्रमण हुनसक्ने सूचना पाएपछि राति नै सो चौकीका प्रहरी हतियारसहित अन्यत्र जाँदा आक्रमण प्रयास विफल भएको थियो।

अघिल्ला हप्ता विप्लव समूहसँग भएको भीडन्तमा घिमिरे मारिएको दावी प्रहरीले गरेको थियो भने तर विप्लव समूहले भने आफ्ना नेतालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको दावी गरेको थियो।

स्रोतका अनुसार, नियन्त्रणमा लिएर गरिएको तीर्थराज घिमिरेको हत्याको बदला छिट्टै लिने चेतावनी विप्लव समूहले दिएको थियो। स्थानीयवासीहरुमार्फत् उनीहरुले यस्तै चेतावनी दिँदै आएका थिए।

विप्लव समूहबाट सोलुको जुन ठाउँमा आक्रमणको प्रयास भयो, त्यसको पूर्वमा संखुवासभा र भोजपुर पर्छन् भने पश्चिममा रामेछाप र दोलखा छन्। दक्षिणमा ओखलढुङ्गा र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्छन्।

यसमध्ये संखुवासभा र भोजपुरमा सो समूहको प्रभाव राम्रै छ। आइतबारमात्र विप्लव समूह छाडी सत्तारुढ नेकपा प्रवेश गरेका पदम राई पनि भोजपुरकै हुन्। बहुदलकालदेखि नै भोजपुरका केही गाउँहरुमा तत्कालिन नेकपा (मशाल) को निकै राम्रो संगठन थियो।

त्यही कारण जनयुद्धकालमा वर्तमान गृहमन्त्री रामबहादुर थापा (बादल), उर्जामन्त्री बर्षमान पुन (अनन्त) लगायतका नेताहरु सोही क्षेत्रमा रहने गरेका थिए। भोजपुर–संखुवासभा–सोलुखुम्बुको सो सीमास्थललाई तत्कालिन माओवादीले पूर्वी ब्यूरो अन्तर्गतको विशेष जिल्ला कमिटी अन्तर्गत राखेको थियो।

निकै ठूलो जंगल रहेको सो क्षेत्रलाई विप्लव समूहले पनि आफ्नो गतिविधि गर्ने क्षेत्र बनाएको थियो। पछिल्लो समय सो क्षेत्रमा विप्लव समूहको गतिविधि बढ्न थालेपछि प्रहरीले आफ्नो सक्रियता पनि बढाएको थियो। र, त्यसैक्रममा घिमिरे मारिएका थिए।

सो क्षेत्रमा आधा भन्दा बढी जनसंख्याले नेपाली भाषा नबुझ्ने स्थिति, घना जंगल र दुर्गम इलाका भएका कारण सेना–प्रहरीको सक्रियताबाट पनि आफूलाई खासै क्षति नपुग्ने विश्लेषणका साथ उनीहरुले आक्रमणको प्रयास गरेको हुनसक्ने जानकारहरुको भनाई छ।

प्रहरी कार्वाहीमा घिमिरेको मृत्युपछि विप्लव समूहका नेता–कार्यकर्ताहरुले ‘छिट्टै हत्याको बदला लिएरै छाड्ने’ चेतावनी दिँदै आएका थिए। त्यही कारण आइतबार महाकुलुङ–३ को छेस्कामस्थित प्रहरी चौकीका आधा दर्जन प्रहरी हतियारसहित चौकी छाडेर सुरक्षित स्थलतिर लागेका थिए।

विप्लव समूहको चेतावनी र प्रहरीको अनुमान अनुसार नै विप्लव समूहबाट प्रहरी चौकी आक्रमणको प्रयास भयो। तर, प्रहरीले पहिले नै सतर्कता अपनाएका कारण प्रहरीतर्फ क्षति हुन पाएन।

merokhabarsathi

Read Previous

चितवनबाट पोखरा जाँदै गरेको जिप तनहुँमा दुर्घटना

Read Next

वर्षाको पहिरन विवादपछि संजोगले लेखे यस्तो स्टाटस

Leave a Reply

Your email address will not be published. Required fields are marked *