पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको धारिलाे हतियार प्रयाेग गरी हत्या भएको हो । १ बालिका घाइते छिन् ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको पुष्टि गरे ।
हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ ।
शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन् । उनीहरुको घर २ किलोमिटर वरपर छ ।
१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । प्रहरीका अनुसार, उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
मध्यराति घटना भए पनि स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए ।