प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले भरतपुर महानगरपालिका–१५ मा निर्माणधीन अवस्थाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।
मन्त्री ढुंगेलसहित यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल, अर्का प्रदेशसभा सदस्य विजय सुवेदी, उद्योगी डाक्टर तिलचन्द्र भट्टराईसहितको टोलीले निर्माणाधीन रंगशाला निरीक्षण गरेका हुन् । निर्माणाधीन रंगशालाको बारेमा मन्त्री ढुंगेललाई धुर्मुस सुन्तली फाउण्डेशनका प्रतिनिधि चन्द्र खड्का तथा क्युरेटर कमल पाण्डेले जानकारी दिएका थिए । रंगशाला निरीक्षणको अवसरमा मन्त्री ढुंगेलले चितवनमा निर्माण भइरहेको सो रंगशाला प्रदेश ३ को मात्रै नभएर नेपालकै सान भएको बताए ।
रंगशाला निर्माणका लागि प्रदेश सरकारको भूमिकाअनुसार सहयोग गर्ने सहयोग गर्ने मन्त्री ढुंगेलले प्रतिवद्धता जनाए । ‘अहिले यस क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर निर्माण भइरहेको छ’ मन्त्री ढुंगेलले भने, ‘डीपीआर सकेपछि हामीलाई जे भूमिका दिइन्छ सोही अनुसार प्रदेश सरकारले रंगशाला निर्माणका लागि सहयोग गर्छ ।’ समयमा नै रंगशाला निर्माण सम्पन्न गर्नका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने ढुंगेलले बताए ।
सो अवसरमा यसै क्षेत्रका प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आफूले १० करोड रुपैयाँको योजना प्रदेशसभामा पेस गरेको बताए । डीपीआर निर्माणको चरणमा रहेको सो रंगशालाको काम भदौमा शिलान्यास गरेर अगाडि बढाउने तयारी थालिएको छ ।