राष्ट्रपति विद्या भण्डारीले संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दा पटक पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गरिन् । राष्ट्रपति भण्डारीले यसरी सम्बोधन गर्दा पूर्ववर्ती राजा/महाराजाहरुले संसदलाई सम्बोधन गरेको झल्को दिइरहेको थियो ।
राजाको समयमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमको शैलीमै राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा प्रस्तुत भएपछि विपक्षी दलका नेता कार्यकर्तादेखि सामाजिक सञ्जालसम्ममा विरोध शुरु भएको छ ।
गणतन्त्रमा राजाले प्रयोग गर्ने ‘मेरो सरकार’को शब्दावलीलाई उस्तै भाव र शैलीमा प्रयोग गरिएको भन्दै आलोचना भएको हो ।
कांग्रेस नेता एवं सांसद गगन थापाले राष्ट्रपतिको सम्बोधन सकिए लगत्तै उनले ट्वीट गर्दै, ‘महामहिम ज्यूको’ निजी सरकारको कार्यक्रम घोषणा भइरहेको टिप्पणी गरेका छन् ।
‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रमको पो घोषणा भइरहेको छ । प्रधानमन्त्री ज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?’ राष्ट्रपतिले सम्बोधन गर्दागर्दै उनले गरेको ट्वीटमा उल्लेख छ ।
विवेकशील साझाका नेता रवीन्द्र मिश्रले पनि मेरो सरकार भन्नु अत्यन्तै गैर जिम्मेवार भएको बताउदै ट्वीट गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्तै गैर-जिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ छ। यो राष्ट्रपतिको सरकार होइन। नेपालि जनताको सरकार हो। सविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपालि जनतामा निहित रहेको उल्लेख छ। भन्दै रवीन्द्र मिश्रले ट्वीट गरेका छन्।