राज्यले सुनिश्चित गरेको महिलाको ३३ प्रतिशत सहभागितालाई सघाउ पुर्याउने उद्देश्यले ‘पुरुषमात्र हुने मञ्च इन्कार गरौं’ अभियान सुरु गरिएको छ ।
सार्वजनिक मञ्चहरुमा महिलाका विषय हुन् वा अरु विषय, पुरुषमात्रै मञ्चहरुमा देखिने अवस्था टीठलाग्दो भएको भन्दै यो अभियान सुरु गरिएको संयुक्त राष्ट्रसंघको सीड कमिटीका उपाध्यक्ष बन्दना राणाले बताइन् ।
अभियानको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार राजधानीमा शुभारम्भ गरे ।
अभियानप्रति ऐक्यबद्धता जनाउँदै उनले लैंगिक समानताका लागि अभियान उपयोगी सावित हुने विश्वास व्यक्त गरे ।
तर, राजनीतिमा लैंगिक असमानताको समस्या भने नरहेको उनको भनाइ छ ।
कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार एवं महिला अधिकारका क्षेत्रमा कार्यरत् व्यक्तिहरुको उपस्थिति थियो ।