विश्वको सर्वोच्च शिखर सगरमाथा सरसफाई अभियानका क्रममा ४ वटा शव भेटिएको छ।
सगरमाथा सफाई अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सरसफाईका क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी दिएको हो।
बेसक्याम्प पुगेका सगरमाथा सफाई अभियानमा जुटेको टोलीले सफाईको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।
बैशाख १ गतेबाट सुरु गरिएको सो सफाई अभियान हाल सगरमाथाको बेस क्याम्पमा पुगेको छ। नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले गत बैशाख १ गतेबाट सगरमाथा सफाई अभियान सुरु गरेको हो।
अभियान अन्तरगत हालसम्म ३ हजार केजी फोहोर संकलन गरिएको र त्यसमध्ये करिव १ हजार केजी फोहोर हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ।
अभियानले ४५ दिन भित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने लक्ष्यका साथ कामलाई अघि बढाएको छ। सफाई अभियानमा १२ जना जनशक्ति परिचालन गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि करिव २ करोड ३२ लाख १६ हजार लाग्ने अनुमान गरिएको छ।