र्‍याफ्टिङ विश्व च्याम्पियनसीपमा नेपालको सहभागिता अन्योलमा

अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महासंघको आयोजनामा मे १६ देखि १९ सम्म अस्ट्रेलियाको टुली नदीमा आयोजना हुन गइरहेको र्‍याफ्टिङ विश्व च्याम्पियनसीपमा नेपालको सहभागिता अन्योलमा परेको छ ।

सरकारले सहयोग नगर्ने भएपछि प्रतियोगितामा सहभागी हुने निश्चित नभएको हो । आर्थिक अभावका कारण छनोटमा परेको नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङ (ए)को सहभागिता अन्योलमा परेको हो । अन्योलताबीच पनि दुई महिनादेखि नेपालका विभिन्न नदीमा पूर्वअभ्यास भने भइरहेको क्लबका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

अहिले अपर सेती (माथिल्लो सेती)मा अभ्यास भइरहेको छ । तर आर्थिक अभावका कारण प्रतियोगितामा सहभागी हुने अवस्था निश्चित नभएको अध्यक्ष गुरुङको भनाई छ । अध्यक्ष गुरुङले भने, “हामी अहिले अभ्यासमा छौँ तर आवश्यक रकम जुट्न सकेको छैन, प्रतियोगिता अवधिभर रु. ३२ लाख खर्च लाग्ने अनुमान गरेका छौँ, अहिलेसम्म कहीँकतैबाट सहयोग आएको छैन, खेलाडी आफैँ खर्च गरेर जान सक्ने अवस्था पनि छैन ।”

सरकारी निकायबाट प्रतियोगिताका लागि सहयोग प्राप्त नभएको उनले बताए । प्रदेश नं ३ सरकारलाई सहयोगका लागि अपिल गर्दा यससम्बन्धी कुनै पनि शीर्षकमा बजेट नछुट्याएकाले सहयोग गर्न नसकिने प्रतिक्रिया दिएको अध्यक्ष गुरुङले बताए ।

नेपालको झण्डा लिएर विश्वका खेलाडीमाझ प्रतिस्पर्धा गर्न जाँदा सरकारबाट कुनै सहयोग नभएको गुरुङको गुनासो छ । प्रतियोगिताका लागि सात जना खेलाडी अष्टे«लिया जाने तयारीमा छन् । विसं २०७५ फागुन ७ देखी ९ गतेसम्म चितवनको इच्छाकामना गाउँपालिका– ३ स्थित त्रिशूली नदीमा भएको तेस्रो राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसीप प्रतियोगितामा विजेता भई छनोटमा परेका नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङ खेलाडी सुरज गुरुङ, सविन गुरुङ, शक्तिकुमार गुरुङ, दीपेश गुरुङ, पदमबहादुर गुरुङ, रविन मियाँ र सुनील गुरुङले विश्व र्‍याफ्टिङ प्रतियोगितामा सहभागिता जनाउने छन् । –रासस

merokhabarsathi

Read Previous

महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने :विज्ञ

Read Next

गौर नगरपालिका शंकास्पद वस्तु फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *