Breaking News :

चितवन पाउरोटी उद्योगहरुमा अनुगमन, शिव पाउरोटीको उत्पादनमा रोक

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले नारायणगढ र भरतपुर क्षेत्रका पाउरोटी उद्योगहरुमा अनुगमन गरेको छ । भरतपुरको केन्द्रीय बसपार्कमा रहेको कोशेली बेकरी उद्योग, लंकूस्थित वडा कार्यालय नजिकै रहेको न्यूरे पाउरोटी उद्योग र लंकूकै शिव पाउरोटी उद्योगमा अनुगमन गरिएको हो ।

पाउरोटी उद्योगहरुले खाद्य स्वच्छतामा ध्यान नदिएको सर्वसाधारणको गुनासोको आधारमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरीक्षक प्रदिप काफ्लेले बताउनुभएको छ। अनुगमनको क्रममा सबैजसो पाउरोटी उद्योगमा फोहोर व्यवस्थापन समस्या रहेको काफ्लेले बताउनु भयो।

सो क्रममा शिव पाउरोटी उद्योगमा फोहोर देखिएपछि उत्पादनमा रोक लगाईएको खाद्य निरीक्षक काफ्लेले जानकारी दिनुभयो । काफ्ले ले भन्नुभयो –“उद्योग फोहोर र दुर्गन्धित भेटियो, खाद्य स्वच्छतामा ध्यान नदिएकाले सुधार नभएसम्मका लागि उत्पादनमा रोक लगाएका हौं ।”

शिव पाउरोटी उद्योगले फोहोर कपडाले पाउरोटी उत्पादन गर्नुको साथै एकै ठाउँमा रहेका शौचालय र उत्पादन स्थल फोहोर अवस्थामा भेटिएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषालले बताउनुभयो । भुषालले पाउरोटी उद्योगहरुको नियमित अनुगमन गर्दै मापदण्ड पुरा नगरेकाहरुलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख बिक्की राउतले नियमित रुपमा बजार अनुगमन गर्ने र दोषी जोकोहीलाई पनि कानुन बमोजिम कारवाही गरिने बताउनुभयो ।

merokhabarsathi

Read Previous

भूकम्प गएको चार वर्ष बित्दा पनि परकम्प जाने क्रम रोकिएन, अझै ठूलो भूकम्प जानसक्ने बिज्ञको भनाई

Read Next

चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशालाको मैदान सम्याउने काम सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *