जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलको शौचालयमा त्यहीँ कार्यरत नर्सको शव फेला परेको छ।
केन्द्रीय स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको लगानी रहेको जनकपुरधाम ८ स्थित जानकी हेल्थकेयर एन्ड टिचिङ अस्पतालकी नर्स रक्षा आले झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
महोत्तरीको गौशाला घर भई टिचिङ अस्पतालमा कार्यरत अन्दाजी २४ वर्षीया आलेले शनिबार राति १ बजे शौचालयको फलामे पाइपमा सलले पासो लगाई आत्महत्या गरेको बताइएको छ।
शौचालय सानो भएको, खुट्टा तल भुइँमा छोएको, भित्र छुरा पाइएको र ढोका फुटाइएकोले उनले आत्महत्या नै गरेकी हुन भन्नेमा शंका उब्जेको छ।
आइतबार बिहान उनका आफन्त पुगेपछि प्रहरीले प्रक्रिया पुर्याएर शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगेको छ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताएका छन्।