सगरमाथाको फोहोर ओसार्दै नेपाली सेनाको हेलिकोप्टर, संकलित फोहरलाई काठमाडौं ल्याइयो

१२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा थालिएको सफाइ अभियानका क्रममा पहिलो चरण अन्तर्गत संकलित फोहोर काठमाडौं ल्याइएको छ ।

यस वर्षको सफाइ अभियानका क्रममा खुम्बु क्षेत्रबाट संकलन भएको फोहोरलाई पहिलो चरण अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं ल्याएको हो ।

नेपाली सेनाको हेलिकोप्टरले यस वर्ष पहिलो चरणमा खुम्बु क्षेत्रबाट संकलन गरिएको एक दशमलब पाँच टन फोहोर काठमाडौं ल्याएको जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

सगरमाथा क्षेत्रको सफाइमा सहगभागी भएको सेनाले आफ्नै हेलिकोप्टरमार्फत पहिलो पटक फोहोर ल्याएको हो । पहिलो चरणअन्तर्गत काठमाडौं ल्याइएको फोहोरलाई सेनाले ‘ब्ल्यू वेस्ट टु भ्यालु’ नामक फोहोर व्यवस्थापन संस्थालाई हस्तान्तरण गरेको छ ।

व्यवस्थापन गर्न सकिने फोहोरलाई नाम्चेमा नै व्यवस्थापन गरी प्रशोधन गर्न मिल्ने फोहोरमात्रै काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याइएको फोहोरलाई भने ब्ल्यू वेस्ट टु भ्यालु नामक संस्थाले व्यवस्थापन गर्ने छ ।

सफाइ अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, वन तथा वातावरण मन्त्रालय, पर्यटन बोर्ड, खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको सहभागिता रहेको छ ।

४५ दिनसम्म चल्ने सफाइ अभियानमा दुई करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च हुने जानकारी दिइएको छ ।

सगरमाथा क्षेत्र सफाइ अभियानमा १२ जना खटिएका छन् । यस अभियानका क्रममा सगरमाथा क्षेत्रमा अलपत्र परेका शवहरुको पनि व्यवस्थापन गर्ने प्रयास गरिने छ ।

merokhabarsathi

Read Previous

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु एक जना घाइते

Read Next

भरतपुरको केन्द्रिय बस टर्मिनलमा रोकि राखेको गाडीमा आगलागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *