जिल्ला समन्वय समिति चितवनले सुविधा सम्पन्न उद्यान निर्माण गर्ने भएको छ । भरतपुर महानगरपालिका–१० रासस कार्यालयसँगै करीब एक बिघा १० कठ्ठा जमीनमा उद्यान निर्माण गर्न लागेको हो । हाल जिल्ला समन्वय समितिको कार्यालय रहेको स्थानमा सभागृह निर्माण गर्ने भएपछि रासस कार्यालयसँगैको जमीनमा उद्यान निर्माण गर्न लागिएको हो ।
समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार हाल न्यायाधीश आवास गृह, शिक्षा समन्वय अधिकारीको आवास गृह, आमा समूह लगायतले चर्चेको जमीनसँगै रहेको खुल्ला जमीनमा उद्यान निर्माण गर्न लागिएको हो ।
जिल्लाको सदरमुकाममा आउने जनतालाई मध्यनजर गर्दै पछिल्ला प्रविधिहरु समावेश गरी उद्यान निर्माण गरिने उहाँले बताउनुभयो । डल्लाकोटीका अनुसार उद्यान निर्माणका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । उहाँले भन्नुभयो, “रकम नपुगे थप गर्छौँ तर उत्कृष्ठ पार्क निर्माण गर्छौँ ।”
छिटै काम थालेर आउँदो दशैँसम्ममा निर्माण गरी सक्ने लक्ष्य राखिएको उद्यानमा पानीका फोहोरा, विभिन्न जातका फूल, बस्ने ठाउँहरु, ओत लाग्ने आकर्षक छानाहरु निर्माण गरिने छ । सरकारी कार्यालयहरुका बीचमा रहेकाले सदरमुकाम आउने र यहाँका स्थानीयलाई थकान मेटाउन र रमाउन उद्यान उपयोगी हुने विश्वास लिइएको छ ।
जिल्लाको सदरमुकाममा सरकारी तबरबाट व्यवस्थित गर्न लागिएको यो पहिलो उद्यान हुने डल्लाकोटीले बताउनुभयो । रासस