प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत
चितवनको माडीमा सामूहिक खेती गरिने भएको छ । चितवनमै पहिलोपटक सुरु गर्न लागिएको सामुहिक खेतीका लागि माडी नगरपालिका ८ कान्तिपुरमा सुर्येदय सहकारी संस्था स्थापना गरेर किसानको लालपुर्जा संकलन गरी जग्गाको छनोट सुरु गरिएको हो ।
करिब एक सय नव्बे विगाहा जग्गा रहेको सो क्षेत्रमा पहिलो चरणमा एकसय विगाहामा सामूहिक खेती सुरु गर्न लागिएको छ । जमीनमा चक्लाबन्दीको माध्यमबाट आवश्यक सिँचाइ, मल तथा बीउको व्यवस्थापन गरी कम्तीमा पनि तीन बाली खेती गरी उत्पादन वृद्धि गर्ने योजना प्रदेश नम्बर ३ को कृषि मन्त्रालयले ल्याएको छ । कान्तिपुरमा सामूहिक कृषि खेती र अन्य क्षेत्रमा सामूहिक माछा खेतीको तयारी गरिएको छ ।
सामूहिक खेतीका लागि प्रदेश नम्बर ३ को कृषि मन्त्रालय,माडी नगरपालिका र स्थानिय वीच अन्तरकृया गरिएको छ । सिन्धुलीको दुधौलीमा सामूहिक खेती सुरु गरेको प्रदेश नम्वर ३ को कृषि मन्त्रालयले चितवनको माडीलाई कृषिमा अव्बल बनाउन सामूहिक खेती सुरु गर्न लागेको प्रदेश नम्वर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिनुभयो । कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेती गर्न लागिएको उहाँले बताउनुभयो ।
‘बाँझो रहेका जग्गाहरुलाई सहकारीको माध्यमबाट सामूहिक खेती गर्दै किसानको आर्थिक अवस्था उकास्ने योजना हो,मन्त्री लामाले भन्नुभयो’,यसले जग्गा बाँझो रहने परम्पर अन्त्य हुन्छ ।’ उहाँले माडीमा कार्यक्रम सफल बनाएर अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको बताउनुभयो । मन्त्री लामाले परिणाम देखिने काममा मात्र प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले खेतको आँठ मिच्दा झगडा गर्ने अवस्थाबाट सामूहिक खेतीमा आउनु निकै साहासिक पक्ष भएको बताउनुभयो । महत्वपूर्ण निर्णयका पछाडि थुप्रै समस्या र चूनौतिहरु हुने भन्दै उहाँले किसानको आँट र साहासलाई संधै सम्मान गर्ने बताउनुभयो ।
सुर्यदय कृषि सहकारी संस्थाका अध्यक्ष इद्र बहादुर पौडेलले सामूहिक खेतीका लागि सुरुका किसानलाई मनाउन धौधौं भएपनि विस्तारै बुझ्दै गएको बताउनुभयो । सबैको सहयोगबाट सामूहिक खेती अभियान सफल हुने उहाँको भनाई छ ।
माडी नगरपालिका ८ कान्तिपुरका स्थानिय गणेशबहादुर गन्दर्भले आफ्नो गाँउमा सामूहिक खेती सुरु हुन लागेकोले निकै खुसी भएको बताउनुभयो ।
सामूहिक खेतीका लागि प्रदेशको कृषि मन्त्रालयले तत्कालका लागि २५ लाख रुपैंया बजेट विनियोजन गरेको छ भने आवश्यक यन्त्र खरिदमा सहयोग गर्ने जनाएको छ । ८६ घरधुरी रहेको कान्तिपुरमा अधिकांस दलित र त्यसमा पनि गन्दर्भ समूदायको बसोबास रहेको छ ।रासस