Breaking News :

चितवनको रामनगरमा लखन पार्क निर्माण गरिने

भरतपुर महानगरपालिका–१ रामनगरमा लखन पार्क निर्माण गरिने भएको छ । शहरी क्षेत्रको नजिक रहेको रमणीय क्षेत्रमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई लक्ष्य गरी पार्क निर्माण गर्न लागिएको हो ।

लखन पार्क व्यवस्थापन समितिका अध्यक्ष जङ्गबहादुर भण्डारीका अनुसार त्यहाँ रहेको आठ बिघा सार्वजनिक जग्गामा पार्क निर्माण गरिने छ । पार्कको एकापट्टि बस्ती रहेको छ भने अर्कोतर्फ सामुदायिक वन छ । हाल सो स्थानमा आदर्श समाज सामुदायिक भवन, खेल मैदान, मन्दिर र सत्तल रहेको छ ।

भण्डारीका अनुसार ती संरचनालाई समेत उपयोग गर्ने गरी पार्क निर्माणका लागि गुरुयोजना वनाउने काम अन्तिम चरणमा पुगेको छ । गुरुयोजना निर्माणका लागि गठित विधान मस्यौदा समितिका संयोजक नारायणप्रसाद अधिकारीका अनुसार पार्कमा प्रथम शहीद लखन थापाको शालिक, राणाकालीन, पञ्चायतकालीन, बहुदलीय व्यवस्था र गणतान्त्रिक व्यवस्था झल्कने संरचना निर्माण गरिने छ । यसैगरी बाल उद्यान, पानीका फोहोरा, देवालय, वनभोज क्षेत्र र व्यवस्थित खेल मैदान पनि निर्माण गरिने छ ।

सो ठाउँमा हाल रहेका पानीका खोल्सालाई व्यवस्थित गरी रमणीय क्षेत्र बनाइने अधिकारीको भनाइ छ । लखन पार्कबाट गणेशधाम जोड्ने सडकसमेत निर्माण गरिनेछ । उनले भने, “लखन पार्कलाई जिल्लाकै नमूना उद्दानको रुपमा विकास गर्न गुरुयोजना अन्तिम चरणमा पुगेको छ ।” नारायणगढ– मुग्लिन सडकखण्ड नजिकै रहेको सो पार्क निर्माणको प्रक्रिया अघि बढाउनका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा रु १५ लाख तथा भरतपुर महानगरपालिकाले रु एक लाख बजेट विनियोजन गरेको छ । सो रकमबाट गुरुयोजनामा असर नपर्ने गरी सरसफाइ गर्ने, शौचालय निर्माण गर्ने, पानीको व्यवस्थापन गर्ने, सीमाङ्कन गर्ने, खेल मैदानको व्यवस्थापन गर्नेलगायत काम गरिने उनले बताए ।

गुरुयोजना निर्माणपछि आवश्यक बजेटका लागि सरकारसँग माग गर्ने र अन्य दाताको खोजीसमेत गरिने अधिकारीले बताए । यस वर्ष गुरुयोजनाको काम सम्पन्न भएसँगै आउँदो आवबाट निर्माणको कामले गति लिने बताइएको छ । गुरुयोजना निर्माणसँगै विस्तृत अध्ययन प्रतिवेदन पछि के कति लागत लाग्छ भन्न सकिने अध्यक्ष भण्डारीले बताए । सो क्षेत्र पवित्र तीर्थस्थल देवघाट नजिक रहेकाले त्यहाँ निर्माण हुने देवालयसहितका संरचना यहाँ आउने भक्तजनका लागि पनि उपयोगी हुने देखिन्छ ।–रासस

merokhabarsathi

Read Previous

चितवनमा हालसम्म बर्डफ्लु देखिएको छैनः विज्ञ केन्द्र

Read Next

आज देखि एसइई परीक्षा सुरू,४ लाख ७५ हजार विद्यार्थी सहभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *