भरतपुरमा प्रहरी विद्यालय खुल्ने

भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा प्रहरी कल्याण कोष अन्तर्गत प्रहरी विद्यालय खुल्ने भएको छ । विद्यालय सञ्चालनबारे नेपाल प्रहरी र भरतपुर महानगरपालिकाबीच गत बुधबार सम्झौता भएको हो ।

प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखाका एसएसपी दिपक थापाले भरतपुरको शान्तिपुरको आधारभूत प्राविको जग्गा र भौतिक संरचनालाई मर्मत गरेर यसै शैक्षिक शत्रबाट कक्षा सञ्चालन गरिने तयारी गरिएको बताउनुभएको छ। थापाले यसै शैक्षिक शत्रबाट पाँच कक्षासम्म कक्षा सञ्चालन गरिए पनि दीर्घकालिनरुपमा भने कक्षा १२ सम्म अध्यापन गराइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘ प्रहरीको गुरुयोजनाअनुसार प्रहरी विद्यालय निर्माणको लागि १५ करोड रुपैयाँ लाग्छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको प्रहरी उच्च अधिकारीहरुको टोलीले विद्यालय सञ्चालन स्थलको अवलोकन गरेर स्थानीय सरोकारवालाहरुसँग छलफल गरे पछि विद्यालय निर्माणको प्रक्रिया अगाडि बढेको हो ।’

आधारभूत प्रावि यसअघि नै कम विद्यार्थी भएकोले अन्य विद्यालयसँग मर्ज भइसकेको विद्यालय हो । विद्यालयको दुई बिघा जग्गा भोगअधिकारको लागि प्रहरीले प्राप्त गरेको छ भने विद्यालयमा रहेका ५९ जना विद्यार्थीसहित अन्य विद्यार्थीहरु भर्ना गरेर जम्मा १३० जना विद्यार्थीले विद्यालयमा पढ्ने अवसर प्राप्त गर्नेछन् ।

 

प्रदेश सांसद विजय सुवेदीले ६० प्रतिशत प्रहरीका छोराछोरीसँगै ४० प्रतिशत सर्वसाधारण नागरिकका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था भएकोले चितवनको लागि विद्यालय खुल्नु सकारात्मक भएको विचार राख्नुभएको छ। सांसद सुवेदीले प्रहरीको विद्यालयबाट बढी गुणस्तरीय र देशलाई आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादन हुने बताउनुभयो।

प्रहरी विद्यालयको गुरुयोजना अनुसार यसवर्ष दिवा कक्षामात्र सञ्चालन हुने विद्यालयमा अर्काे वर्षबाट आवासिय सुविद्यासमेत विद्यार्थीले प्राप्त गर्नेछन् । प्रहरी एसएसपी दिपक थापाले स्थानीय गरिब र अल्पसंख्यक जनजातिका बालबालिकाहरुले पाँच वर्षसम्म निःशुल्क अध्ययन गर्न पाउने पनि जानकारी दिनुभयो। निरीक्षकसहित २५ जनाको दरबन्दी रहने यस विद्यालयमा विद्यालय सञ्चालनको लागि आवश्यक दरबन्दी छिट्टै माग गरिने पनि बताउनुभयो। विद्यालयमा प्रहरी व्यारेक, आवासीय भवन, खेल मैदान, अत्याधुनिक विद्यालय भवन रहने गरी प्रहरी प्रधान कार्यालयले योजना बनाएको छ ।

merokhabarsathi

Read Previous

ठोरीमा आँखा उपचार केन्द्र उद्घाटन

Read Next

चितवनको भरतपुरमा रहेको ‘राइनो ताल’ मा काठे डुङ्गा सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *