चितवन राष्ट्रिय निकुञ्जको घाँसे मैदान व्यवस्थापन गरिँदै

दुर्लभ वन्यजन्तुको आहारमा समस्या आउन नदिनका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापन गर्ने भएको छ ।

निकुञ्जले यस वर्ष करीब २०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले जानकारी दिनुभयो । दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, हरिण, जरायोलगायतका संरक्षित जनावरका लागि घाँसे मैदान व्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो ।

निकुञ्जभित्र घाँसको पर्याप्त व्यवस्थापन हुनसकेको अवस्थामा एकसिङ्गे गैँडा, हरिण, जरायोलगायतका जनावर बस्ती प्रवेश गर्ने भएकाले निकुञ्जले वर्षेनी घाँसे मैदान व्यवस्थापन गर्दै आएको छ ।

विभिन्न साझेदार संस्थासँगको सहकार्यमा निकुञ्जले घाँसे मैदान व्यवस्थापन गर्न लागेको घिमिरेले जानकारी दिनुभयो । ९५२ वर्गकिमी क्षेत्रफलमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र करीब १० हजार हेक्टर क्षेत्रफलमा घाँसे मैदान रहेको छ । केही वर्ष पहिलेसम्म निकुञ्जले खरखडाइ खोल्ने गर्दा घाँसे मैदान व्यवस्थापन गर्नु पर्दैनथ्यो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समूहका अध्यक्ष मधुकर मल्लका अनुसार खरखडाइ खोल्न बन्द गरेपछि घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको हो । “पहिले खरखडाई खोल्दा मध्यवर्तीका बासिन्दाले खरखडाइ काटेर लैजाने भएकाले आफैँ कमलो घाँस पलाउँथ्यो”, मल्ले भन्नुभयो, “खरखडाइ नै बन्द भएपछि सर्वसाधारण निकुञ्ज प्रवेश गर्न पाउँदैनन् । त्यसैले निकुञ्जले स्रोत खर्च गरेर घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ ।” वर्षेनी खोलिदै आएको खरखडाइ संरक्षणमा असर परेको जनाउँदै निकुञ्जले केही वर्ष अगाडिदेखि खरखडाइ बन्द गरेको हो । रासस

merokhabarsathi

Read Previous

महिला ग्राहकहरुलाई विशेष अफर दिई शुभ पेट्रोल्याण्डले मनायो नारी दिवस

Read Next

महिला दिवसको अवसरमा खैरहनीमा अन्तरक्रिया कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *